आजदेखि विश्व फुटवलको महासंग्राम : ४८ देश सहभागी

1.3K

आजदेखि विश्व फुटवलको महासंग्राम : ४८ देश सहभागी

विश्व फुटबलका करोडौं समर्थकले प्रतीक्षा गरेको फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको २३ औँ संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य प्रतियोगिताका रूपमा मैदानमा उत्रिएको हो ।
आज (जुन ११) देखि जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो पटक ४८ राष्ट्र सहभागी छन् । यसअघि विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । टोली संख्या बढेसँगै खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ । यसले फिफा विश्वकप २०२६ लाई अहिलेसम्मकै सबैभन्दा विस्तारित संस्करण बनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आज नेपाली समय अनुसार राती पौने १ बजे मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियममा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुँदैछ । ३९ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा खेलाइनेछ ।
फिफा विश्वकपको इतिहासमा पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगिताका खेलहरू १६ वटा सहरका स्टेडियममा सञ्चालन हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहर खेलस्थलका रूपमा छनोट भएका छन् ।
नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली रहनेछन् । समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीले ‘राउन्ड अफ ३२’ मा स्थान बनाउनेछन् । त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरू हुनेछन् ।
यस विश्वकपसँगै मेक्सिको विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्नेछ । त्यस्तै, एज्टेका स्टेडियमले सन् १९७०, १९८६ र २०२६ गरी तीन फरक विश्वकपको खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशालाको कीर्तिमान कायम गर्नेछ ।
प्रतियोगिता विस्तारसँगै केही नयाँ राष्ट्रहरूले पनि पहिलो पटक विश्वकपको यात्रा तय गरेका छन् । कुराकाओ, उज्वेकिस्तान, जोर्डन र केप भर्डेजस्ता टोलीहरूले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गर्ने अवसर पाएका छन् ।
सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिना यसपटक कप्तान लियोनल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । यता ब्राजिल, फ्रान्स, स्पेन, जर्मनी, इंग्ल्याण्ड र पोर्चुगलजस्ता फुटबल महाशक्तिहरू पनि उपाधि दाबेदारका रूपमा रहेका छन् । विश्वकपको रोमाञ्चक यात्रा सुरु भएसँगै अब विश्वभरका फुटबल समर्थकहरूको नजर उत्तर अमेरिकी मैदानतर्फ केन्द्रित रहनेछ ।