दुर्गाशिव मन्दिरमा वेस्टर्न मेगाद्वारा सरसफाइ तथा तीर्थालु सेवा

1.3K

दुर्गाशिव मन्दिरमा वेस्टर्न मेगाद्वारा सरसफाइ तथा तीर्थालु सेवा

वेस्टर्न मेगा कलेज, बुटवल–१५ ढवाहाका विद्यार्थीहरूले नयाँमिलस्थित दुर्गाशिव मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् । कलेजको छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार (साउन १८) श्रावण महिनाको अवसर पारेर मन्दिर परिसर सफा गर्नुका साथै दर्शनार्थी तथा तीर्थालुहरूलाई सेवा प्रदान गरेका हुन् ।
मन्दिर क्षेत्रको वातावरण स्वच्छ राख्ने, धार्मिक स्थलको संरक्षणमा योगदान पु¥याउने तथा समुदायप्रति उत्तरदायित्वबोध अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कलेजका अनुसार साउन महिनाभर सञ्चालन हुने अभियानअन्तर्गत साउन २५ गते पर्रोहास्थित बोलबमधाम तथा पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिर परिसरमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।

कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीलाई सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउन यस्ता सामाजिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताए । यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागिता थप सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।
वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चारवर्षे बिबिएस र बिएचएम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबिए कार्यक्रम सञ्चालन हुँदै आएको छ । कलेजले शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला भएको जानकारी पनि दिएको छ ।