बुटवल एकेडेमिक इन्स्टिच्यूट अफ हेल्थ साइन्सले विद्यार्थीलाई आकस्मिक अवस्थामा जीवन बचाउने आधारभूत सीप प्रदान गर्ने उद्देश्यले बेसिक लाइफ सपोर्ट तालिम गरेको छ ।
तालिममा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिले आकस्मिक अवस्थामा बिरामीलाई तत्काल आवश्यक प्राथमिक उपचार तथा जीवनरक्षा सीप कसरी प्रदान गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । तालिममा संस्थाका १५० जना विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको सञ्चालक भावना पाण्डेले जानकारी दिइन् ।
इन्स्टिच्यूटका अध्यक्ष विनोद घिमिरेले ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि आवश्यक स्रोतसाधनको अभावमा स्वास्थ्यकर्मीले तत्काल उपलब्ध साधनको प्रयोग गरी कृत्रिम तथा व्यावहारिक विधिबाट जीवन बचाएका उदाहरण रहेको बताए । यस्ता अवस्थालाई समेत मध्यनजर गर्दै विद्यार्थीलाई व्यवहारिक जीवनरक्षा सीप प्रदान गर्न तालिम आयोजना गरिएको उनले बताए ।

भिम अस्पताल भैरहवाका अस्पताल व्यवस्थापक डा. छमबहादुर अधिकारीले स्वास्थ्यकर्मीको दायित्व उपचारमा मात्रै सीमित नभई बिरामीलाई आवश्यक स्वास्थ्य सेवाको तहसम्म सुरक्षित रूपमा पुर्याउनु पनि रहेको बताए । “स्वास्थ्य सेवा संवेदनशील क्षेत्र हो । उपचारका लागि रुँदै आएको बिरामीलाई हँसाउँदै फर्काउने जिम्मेवारी स्वास्थ्यकर्मीको हो,” उनले भने । उनले नेपालमा मात्र नभई विदेशमा समेत दक्ष स्वास्थ्य जनशक्तिको राम्रो सम्भावना रहेको बताउनुभयो ।
इन्स्टिच्यूटका प्राचार्य विनोद पोखरेलले हेल्थ असिस्टेन्ट जनस्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेको बताए । समुदायमा काम गर्ने क्रममा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा कसरी प्रवाह गर्ने भन्ने सीप स्वास्थ्यकर्मीका लागि अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ थियो ।
तालिममा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसिएमएस) भैरहवामा कार्यरत डा. मृगेन्द्र पौड्याल र रणअम्बिका आँखा अस्पतालका डा. अशोक धितालले सहजीकरण गरेका थिए । तालिममा सहभागी विद्यार्थीलाई आकस्मिक अवस्थामा बिरामीको अवस्था पहिचान, तत्काल गर्नुपर्ने आधारभूत जीवनरक्षा उपाय तथा स्वास्थ्य संस्थासम्म पुर्याउनुअघि अपनाउनुपर्ने सावधानीबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।