पेट्रोलियम चोरीमा संलग्न रुपन्देहीकाे सर्राफ आयल स्टोरलाई १ लाख जरिवाना, ६ महिना आपूर्ति बन्द

1.3K

पेट्रोलियम चोरीमा संलग्न रुपन्देहीकाे सर्राफ आयल स्टोरलाई १ लाख जरिवाना, ६ महिना आपूर्ति बन्द

नेपाल आयल निगमको ढुवानी प्रणालीमा जडान गरिएको सुरक्षा प्रविधिमा छेडछाड गरी पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको आरोपमा तीनवटा ट्याङ्कर र एक पेट्रोल पम्पमाथि कारबाही गरिएको छ ।
निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारीका अनुसार अमलेखगञ्जबाट भलवारी डिपोका लागि डिजेल लिएर आएका लु १ ख ६५०४, लु २ ख १५४४ र लु १ ख ६६१९ नम्बरका तीन ट्याङ्करमा मेकानिकल सेक्युरिटि लकिङ सिस्टमलाई भेइकल ज्याक प्रयोग गरी निष्क्रिय बनाएर डिजेल निकाल्ने प्रयास गरिएको पाइएको हो ।
भदौ ३० गते अमलेखगञ्जबाट २०–२० हजार लिटर डिजेल बोकेर आएका ट्याङ्करले रुपन्देहीकाे सियारीस्थित सर्राफ आयल स्टोरमा लकिङ प्रणालीमा छेडछाड गरिएको निगमले जनाएको छ । दुई ट्याङ्करमा म्यानहोल कभर खोलेर डिजेल निकाल्ने क्रममा लुम्बिनी प्रदेश प्रहरीको टोलीले चालकलाई नियन्त्रणमा लिएको थियो । अर्को ट्याङ्करबाट समेत डिजेल निकालिएको अवस्थामा फेला परेको थियो ।
प्रहरी र निगमका कर्मचारीले संयुक्त रूपमा गरेको जाँचका क्रममा तीनवटै ट्याङ्करबाट निकालिएको करिब ३०–३० लिटर डिजेल निलो ड्रममा राखिएको अवस्थामा फेला परेको निगमले जनाएकाे छ । घटनापछि प्रहरीले आयल स्टोर सिलबन्दी गरी तीनवटै ट्याङ्करलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, भैरहवा पठाएको छ ।
घटनामा संलग्न सर्राफ आयल स्टोरलाई निगमले १ लाख रुपैयाँ जरिवाना गर्नुका साथै ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, तीनवटै ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको छ ।
निगमले सम्बन्धित ट्याङ्करका चालक तथा सहचालकलाई आफ्ना डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गरेको छ । साथै निगमसँगको करारमा सञ्चालन हुने ट्याङ्कर चलाउनसमेत नपाउने गरी कारबाही गरिएको जनाएको छ ।
निगमले चालक, सहचालक तथा पम्प सञ्चालकविरुद्ध आवश्यक कानुनी कारबाहीका लागि प्रहरीसमक्ष जाहेरीसमेत दिएको छ । सुरक्षा लकिङ प्रणालीमै छेडछाड गरी डिजेल निकाल्ने प्रयास भएको घटनापछि निगमले ढुवानी तथा बिक्री प्रणालीमा संलग्न पक्षमाथि कडाइ गरेको हो ।

(फाेटाे एआईकाे सहायतामा तयार गरिएकाे हाे ।)