नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले कांग्रेसको इतिहास, वर्तमान राजनीति, पुस्तान्तरण, लोकतन्त्र र बदलिँदो राजनीतिक परिस्थितिबारे आ–आफ्ना धारणा राखेका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गरे ।
समारोहमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिले पनि चर्चा पायो । थापाले देउवाका लागि कुर्सी राखिएको उल्लेख गर्दै उहाँबाटै महाधिवेशन उद्घाटन हुने अपेक्षा गरिएको बताएका थिए । उनले देउवालाई सम्मान गर्ने कुरा औपचारिक सत्कारभन्दा पनि उहाँले बनाएको पार्टीलाई अझ उचाइमा पुर्याउने विषयसँग जोडिएको बताए ।
म पनि कांग्रेस बन्थेँ हुँला : रवि
कांग्रेस सभापति थापाभन्दा पहिले बोलेका रास्वपा सभापति रवि लामिछानेले आफ्नो मन्तव्यमा कांग्रेसको इतिहासको प्रशंसा र आलोचना दुवै गरे । उनले थापालाई ५० वर्षको उमेरमा सभापति बनेको प्रसंग जोड्दै आफूलाई ४० वर्षकै उमेरमा कांग्रेसको नेतृत्व गर्न प्रेरित गरेको भए आफू पनि कांग्रेस बन्न सक्ने टिप्पणी गरे ।
लामिछानेले कांग्रेसको शक्तिको आधार नै उसको इतिहास भएको उल्लेख गर्दै त्यही इतिहास कमजोरीको कारणसमेत बन्न सक्ने बताए । कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान र सत्तामा रहँदा भएका कमजोरीलाई उनले एउटै सन्दर्भमा जोडेर प्रस्तुत गरे ।
उनले महाधिवेशनमा सहभागीमध्ये केहीले विगतको निर्वाचनमा रास्वपालाई मत दिएको हुन सक्ने भन्दै मतदातामाथि कुनै दलको स्थायी स्वामित्व नहुने बताए । राम्रो काम नगर्ने दलप्रति मतदाताले आफ्नो समर्थन फिर्ता लिन सक्ने उनको भनाइ थियो ।
लामिछानेले ‘जय नेपाल’लाई समेत आफ्नो शैलीमा व्याख्या गर्दै ‘पार्टीवाला होइन, देशवाला’ भने । त्यससँगै उनले कांग्रेसलाई लोकतन्त्र बलियो बनाउने भूमिकामा रहन आग्रह गरे । व्यक्ति बचाउन वा फसाउन लोकतन्त्रलाई कमजोर नबनाउन उनको आग्रह थियो ।
आफू सत्तापक्ष भएर पनि कांग्रेसको मञ्चमा ‘एक्लो प्रतिपक्ष’ जस्तो भएको टिप्पणी गरेका लामिछानेले सरकार ढल्ने चर्चालाई पनि अस्वीकार गरे ।
गगनको जवाफ : हामीले पनि धेरै पठाएका छौँ
लामिछानेका कतिपय टिप्पणीको जवाफ थापाले आफ्नो सम्बोधनमा दिए । लामिछानेले कांग्रेसका कतिपय नेता–कार्यकर्ता विगतमा रास्वपालाई मत दिएको प्रसंग उठाएपछि थापाले रास्वपालाई कांग्रेसले पनि धेरै नेता, पदाधिकारी र सांसद पठाएको स्मरण गराए ।
थापाले खुलामञ्चलाई केवल महाधिवेशन आयोजना गर्ने ठाउँका रूपमा नभई खुला संवादको प्रतीकका रूपमा प्रस्तुत गरे । संसद् र समाज दुवैमा संवादको वातावरण आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषय उठाउँदै थापाले आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति प्रधानमन्त्रीको जवाफदेही उपस्थिति आवश्यक रहेको बताए । प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् वास्तविक अर्थमा ‘खुला मञ्च’ बन्न नसक्ने उनको तर्क थियो ।
उनले पहाड–मधेस, जातजाति, धर्म र पुस्ताबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोपभन्दा प्रत्यक्ष संवाद आवश्यक रहेको बताए । डिजिटल माध्यममा प्रतिक्रिया र आक्रोशभन्दा तथ्य, तर्क र विचारले स्थान पाउनुपर्नेमा पनि उनले जोड दिए ।
रसुवाको प्रसंग सम्बोधनका क्रममा थापा केहीबेर भावुकसमेत देखिए । रसुवाको बाढीमा ज्यान गुमाएका कांग्रेसका दुई कार्यकर्तालाई स्मरण गर्दा उनको स्वर भावुक बनेको थियो ।
त्यसपछि उनले पार्टीभित्रको एकता, नयाँ नेतृत्व र बदलिएको कांग्रेसको आवश्यकताबारे धारणा राखे । यसपटकको महाधिवेशन पद बाँडफाँटको अवसर मात्र नभई कांग्रेसले आफूलाई नयाँ परिस्थितिअनुसार पुनःपरिभाषित गर्ने अवसर भएको सन्देश उनको सम्बोधनमा देखिन्थ्यो ।
प्रचण्डको ‘क्रमभंग’को सन्देश
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति थापा र रास्वपा सभापति लामिछाने दुवैलाई ‘क्रमभंग’ गर्न सुझाव दिए ।
आफूले विगतमा शान्ति प्रक्रियादेखि संविधान र गणतन्त्रसम्म क्रमभंग गर्दै आएको उल्लेख गर्दै उनले अब नयाँ पुस्ताको पालो आएको बताए । ‘गगनजीले जुन क्रमभंग गर्नुभयो, अब रविजीले पनि गर्नुस्’ भन्ने उनको सन्देश थियो ।
प्रचण्डले थापालाई कांग्रेसमा आएको परिवर्तनलाई अगाडि बढाउन र छुटेका पुराना पुस्तालाई समेत साथमा लिएर अघि बढ्न आग्रह गरे । लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने उनको जोड थियो ।
देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारका गतिविधिले लोकतन्त्र र संविधानमाथि चुनौती बढ्न सक्ने धारणा पनि राखे ।
शंकर पोखरेलको ‘फेरि सँगै उभिने’ प्रस्ताव
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र वामपन्थीबीच विगतका सहकार्य स्मरण गर्दै अहिले पनि लोकतन्त्र र संविधानको रक्षाका लागि सहकार्यको आवश्यकता रहेको बताए । राणा शासन, पञ्चायत र ज्ञानेन्द्रको शासनविरुद्ध कांग्रेस र वामपन्थीहरू सँगै उभिएको स्मरण गर्दै उनले निराश युवालाई थप निराश हुन नदिन राजनीतिक दलहरूबीच संवाद र सहकार्य आवश्यक रहेको बताए ।
पोखरेलले रास्वपा सभापति लामिछानेले विभिन्न राजनीतिक दललाई संवादमा ल्याउन गरेको प्रयासको प्रसंग उठाउँदै सरकार आफैं संवादमा आउनुपर्ने प्रश्न गरे ।
उनले केवल अनुहार परिवर्तन गरेर मात्र राजनीतिक समस्या समाधान नहुने भन्दै नयाँ राजनीतिक परिवर्तनको आवश्यकता रहेको धारणा राखे ।
विश्वप्रकाशको जलवायु न्यायमा जोड
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तन र जलवायु न्यायको विषयलाई आफ्नो सम्बोधनको केन्द्रमा राखे । उनले पारिस्थितिकीय चक्रमा आएको असन्तुलनले मानव समाज र पृथ्वीको भविष्यमा पार्ने प्रभावबारे सचेत गराए । कांग्रेसले यसपटक महाधिवेशनको उद्घाटनमा वातावरण संरक्षणको सन्देश दिन बिरुवामा पानी सिञ्चनसमेत गरेको थियो ।
खुलामञ्चबाट फरक–फरक सन्देश
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनमा नेताहरूले एउटै मञ्चबाट फरक–फरक राजनीतिक सन्देश दिएका छन् । लामिछानेले कांग्रेसलाई इतिहासबाट शक्ति लिँदै वर्तमानको परीक्षा सामना गर्न सुझाए । थापाले खुला संवाद, जवाफदेहिता र नयाँ कांग्रेसको आवश्यकता औँल्याए । प्रचण्डले पुस्तान्तरणसँगै ‘क्रमभंग’को सन्देश दिए भने पोखरेलले विगतको सहकार्य सम्झाउँदै राजनीतिक संवाद र सहकार्यको आवश्यकता औँल्याए ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह पार्टीको आन्तरिक नेतृत्व चयनको प्रारम्भिक कार्यक्रम मात्र बनेन, बदलिँदो नेपाली राजनीतिमा पुराना दल, नयाँ शक्ति र नयाँ पुस्ताबीचको सम्बन्धबारे बहस गर्ने साझा मञ्चसमेत बन्यो । अब यी सन्देशहरू कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशामा कसरी प्रतिबिम्बित हुन्छन्, समयक्रमले बताउने नै छ ।