चाडपर्वमा रगतकाे अभाव हुनसक्छ : रक्तदान गर्न रेडक्रसको अपिल

1.3K

चाडपर्वमा रगतकाे अभाव हुनसक्छ : रक्तदान गर्न रेडक्रसको अपिल

चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम घट्दै जाँदा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्योपचारका क्रममा रगतको माग बढिरहेको भए पनि ठूला चाडपर्वका समयमा नियमित रक्तदान कार्यक्रम कम हुने गरेकाले रगतको उपलब्धता सहज बनाउन स्वस्फूर्त रक्तदान आवश्यक रहेको शाखाले जनाएको छ ।
दुर्घटना तथा अन्य आकस्मिक स्वास्थ्य समस्यामा जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्त सञ्चार सेवामा रगतको मौज्दात कायम राख्न सबैले सहयोग गर्नुपर्ने शाखाका सभापति रामचन्द्र उपाध्यायले बताएका छन् ।
शाखाले समाजसेवी, सामाजिक अगुवा, भद्रभलाद्मी तथा सचेत नागरिकलाई आफूलाई पायक पर्ने रक्त सञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गर्न र अरूलाई पनि प्रेरित गर्न अनुरोध गरेको छ ।
रुपन्देहीमा रक्तदान गर्न चाहनेले बुटवलस्थित रक्त सञ्चार सेवा केन्द्र तथा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) को रक्त सञ्चार सेवा इकाईमा सम्पर्क गर्न सक्नेछन् ।
रक्तदानले आकस्मिक अवस्थामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने भएकाले चाडपर्वका समयमा पनि रक्तदानलाई निरन्तरता दिन रेडक्रसले सबैमा अपिल गरेको छ ।