नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र सरकारका जनविरोधी गतिविधिको विरोधलाई केन्द्रमा राखेर आजदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीले आज कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानमा आगामी निर्वाचन, राष्ट्रिय महाधिवेशन, संगठन विस्तार, जनजीविकाका सवाल तथा लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका विषयलाई प्राथमिकता दिइनेछ ।
पार्टीले असोज २५ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा राष्ट्रिय महाधिवेशन तथा स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीसँगै सरकारले गरेका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलनको तयारीका रूपमा अभियान सञ्चालन गर्ने जानकारी गराएकाे छ ।
अभियानमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटी परिचालन हुनेछन् । केन्द्रीय कार्यसंयोजन समितिका सदस्यलाई विभिन्न जिल्लाको समन्वय गर्ने जिम्मेवारी दिइएको छ । उनीहरूले सम्बन्धित प्रदेश र जिल्लाका पार्टी कमिटीसँग समन्वय, अनुगमन तथा मार्गदर्शन गर्नेछन् ।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायत नेताले अभियानका कार्यक्रम सार्वजनिक गर्नेछन् ।
अभियानका क्रममा पार्टी कमिटी तथा जनवर्गीय संगठनको समायोजन पूरा गर्ने, संगठित सदस्यता नवीकरण र विस्तार गर्ने तथा बैठक, भेला र प्रशिक्षण सञ्चालन गर्ने नेकपाको योजना छ । जनताका माग र दैनिक जनजीविकाका समस्या संकलन गरी सम्बन्धित निकायमा पुर्याउने, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने र सांस्कृतिक गतिविधिमार्फत जनतासँगको सम्बन्ध विस्तार गर्ने कार्यक्रम पनि समेटिएका छन् ।
त्यस्तै, महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइने पार्टीले जनाएको छ । यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाउने योजना छ ।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र सुशासनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गर्ने पनि अभियानको कार्यसूचीमा छ । पार्टीका अनुसार अभियानका कार्यक्रम स्थानीय अवस्था, जनताको आवश्यकता र सम्बन्धित तहका कमिटीको निर्णयअनुसार सञ्चालन गरिनेछन् ।