साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे । आसिफले ३२ रन जोडे । सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । अनिल खरेल १७ रनमा अविजित रहे भने सैफ जैबले १३ रन जोडे ।
लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए । कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एक-एक विकेट हात पारे ।
खेलमा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो । दोस्रो ओभरमा शेर मल्लको एलबीडब्लु अपिलमा कप्तान रोहित पौडेलले डीआरएस लिए पनि लुम्बिनी सफल हुन सकेन ।
एनपीएलअन्तर्गत मंगलबार दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।