अल्ट्रासाउन्ड परीक्षण रोग पहिचान गर्ने माध्यममा मात्र सीमित नभई उपचारको दिशा तय गर्न र बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्नसमेत उत्तिकै महत्वपूर्ण छ ।
रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा नं. ३, ड्राइभरटोलस्थित निदान अल्ट्रासाउन्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले अल्ट्रासाउन्डको उपयोगिता, आधुनिक प्रविधि, परीक्षणको गुणस्तर र रिपोर्टमा अल्ट्रासाउन्डकाे महत्वका बारेमा व्याख्या गरेका छन् ।
२१ वर्ष सरकारी सेवामा बिताएका डा. खनालले आफ्नो व्यावसायिक अनुभव, विभिन्न स्वास्थ्य संस्थामा काम गर्दाका सिकाइ तथा अमेरिकामा गरेको अनुसन्धानका अनुभव पनि सुनाए । उनले रेडियोलोजी सेवामा दक्ष जनशक्ति, आधुनिक उपकरण र वैज्ञानिक परीक्षण पद्धति रोगको सही निदानका आधार भएको उल्लेख गरे ।
उनका अनुसार अल्ट्रासाउन्ड गर्भावस्था तथा स्त्रीरोग, कलेजो, पित्तथैली, मिर्गौला, प्यान्क्रियाज, प्लीहा, मुटु र रक्तनलीलगायत शरीरका विभिन्न अङ्गको अवस्था परीक्षण गर्न प्रयोग हुन्छ । शरीरभित्रका अङ्गको संरचना हेर्न, रोगको सम्भावना पहिचान गर्न र आवश्यकताअनुसार उपचार प्रक्रियालाई मार्गदर्शन गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । चोटपटक तथा आकस्मिक स्वास्थ्य समस्यामा पनि यसले शरीरभित्रको अवस्था छिटो मूल्याङ्कन गर्न सहयोग पुर्याउने उनले बताए ।
कार्यक्रममा सेन्टरले उपलब्ध गराउँदै आएका आधुनिक प्रविधिमा आधारित ४-डी, ५-डी अल्ट्रासाउन्ड तथा कलेजोको बहुआयामिक परीक्षण (मल्टिप्यारामेट्रिक सियर वेभ इलास्टोग्राफी) बारे पनि जानकारी गराइएको थियो । ४-डी तथा ५-डी प्रविधिबाट गर्भस्थ शिशुको त्रिआयामिक तथा गतिशील दृश्य हेर्न सकिन्छ । यसले गर्भावस्थासम्बन्धी आवश्यक मूल्याङ्कनमा सहयोग पुर्याउँछ । त्यस्तै, कलेजोको विशेष परीक्षणबाट कलेजोमा बोसो जमेको अवस्था, कडापन तथा फाइब्रोसिसको जोखिम मूल्याङ्कन गर्न सकिन्छ ।
डा. खनालले कलेजोको स्वास्थ्य मूल्याङ्कन गर्दा एउटा परीक्षणको नतिजालाई मात्रै आधार बनाउन नहुनेमा जोड दिए । बिरामीको विगतदेखिकाे स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, जीवनशैली र अन्य जोखिमलाई समेत समेटेर समग्र मूल्याङ्कन गर्नुपर्ने उनको भनाई छ ।
अल्ट्रासाउन्डबाट प्राप्त तस्बिर मात्रै रोगको अन्तिम निष्कर्ष नभएको उल्लेख गर्दै डा. खनालले परीक्षणको गुणस्तर र रिपोर्टको चिकित्सकीय व्याख्यामा विशेष ध्यान दिनुपर्ने बताए ।
बिरामीका लक्षण, स्वास्थ्य अवस्था र अन्य परीक्षणको नतिजासँग तुलना गरेर रिपोर्ट तयार पार्दा मात्रै उपचारसम्बन्धी सही निर्णय लिन सहज हुने उनले स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी सही र वैज्ञानिक सूचना समुदायसम्म पुर्याउन पत्रकारको भूमिका पनि महत्वपूर्ण रहेको चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पाेखरेल, वरिष्ठ पत्रकार मदनलाल पौडेल, महेन्द्र थापा, यमलाल भुसाल, हरिश ढकाल, माधव ढुंगानालगायतले धारणा राखका थिए । सहभागी पत्रकारहरूले आधुनिक रेडियोलोजी प्रविधि, परीक्षणको विश्वसनीयता तथा डा. खनालको व्यवसायिक अनुभवबारे जिज्ञासा राखेका थिए ।