आज भाइटीका : टीकाकाे शुभसाइत बिहान ११ बजेर ७ मा

1.3K

आज भाइटीका : टीकाकाे शुभसाइत बिहान ११ बजेर ७ मा

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको आज अन्तिम दिन भाइटीका मनाइँदैछ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै भाइटीका मनाउन लागेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
भाइटीका दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र आपसी सद्भाव प्रकट गर्ने पर्वका रूपमा मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठा मिठा खानेकुरा प्रदान गरी सुख, शान्ति तथा दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान र माया प्रकट गर्ने परम्परा छ ।
तिहार पाँच दिनको पर्व भए पनि यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइएको हो । धनतेरसबाट सुरु भएको यमपञ्चकमा कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गोवर्धनपूजा तथा म्हपूजा सम्पन्न भइसकेका छन् ।
यसैगरी हिजाे कात्तिक २४ गते मंगलबारदेखि नेपाल संवत् ११४७ पनि सुरु भएकाे छ ।