बुटवल,बैशाक, नयां शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईले एमाले र एमाओवादीले कम्युनिष्ट पार्टीको साइनबोर्ड झुण्डाएर जनतालाई ठगिरहेको बताएका छन् । मधेश जागरण अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमाओवादी र एमालेले आफूलाई कम्युनिष्ट भन्दै हिंडे पनि ब्यवहार, आचरण र संस्कार कम्युनिष्टको नभएको तर्क गरे । पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले कम्युनिष्टहरुमा सिद्धान्त र व्यवहारमा एकरुपता हुनुपर्नेमा एमाले र एमाओवादी दुबैले कम्युनिष्टको नाममा जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाए ।
‘भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्,नातावाद,कृपावाद र सामन्ती निरंकुश व्यवहार छ अझै आफूलाई कम्युनिष्ट भन्दै हिंड्छन्’–भट्टराईले भने–‘यिनीहरुको भण्डाफोर गर्न धेरै ढिला भइसक्यो,जनताले बेलैमा चिन्न जरुरी छ ।’
आफूलाई भारतपरस्त भन्ने गरिएकोतर्फ इंगित गर्दै भट्टराईले आफू सधैं राष्ट्रियता र जनताको हितमा काम गर्ने व्यक्ति भएकाले अरुले लगाउने ‘घटिया’ आरोपको खण्डन गर्दै हिंड्न जरुरी नभएको बताए । ‘मैले राष्ट्र र जनताको अहित हुने के काम गरें त्यो पुष्टी गर्न चुनौति दिन्छु ’–भट्टराईले आक्रोशित हुंदै भने–‘आफ्नो देशमा सियो नबनाउने अनि खोक्रो राष्ट्रबादको कुरा गर्र्दै सत्ताका लागि सुटुक्क लैनचौर र दिल्ली धाउने प्रचण्ड र ओलीहरु नै भारतपरस्त हुन् ।’
पुर्व प्रधानमन्त्री भएका नाताले थाहा पाएजति सबै कुरा बोल्न नमिल्ने उल्लेख गर्दै नेता भट्टराईले पुराना दलहरुका कर्तुतबारे जनता आफैले जानेर नांगेझार पार्नुपर्ने आग्रह गरे ।
‘सरकारमा गएपछि आफ्ना आसेपासेलाई भर्ति गरेर सरकारी ढुकुटीमा ब्रम्हलुट गर्ने, जनताको छोराछोरीको कोटामा आफ्ना छोराछोरीलाई छात्रवृत्तिमा विदेश पढ्न पठाउनेहरु कसरी राष्ट्रवादी हुनसक्छन्’–भट्टराईले भने । मधेशी जनता देशभक्त र राष्ट्रवादी भएको तर्क गर्दै भट्टराईले छालाको रंग र भाषालाई हेरेर अरुलाई भारतपरस्त र आफूलाई मात्र राष्ट्रवादी देख्ने ओली– प्रचण्ड मार्काको मण्डले राष्ट्रवादले मुलुकलाई निकास नदिने प्रष्ट पारे । ‘राष्ट्रियता कसैको पेवा र खेलवाडको विषय होइन’– भट्टराईले भने–‘हिमाल, पहाड र तराइ–मधेशका सबै जाति, भाषा, धर्म र संस्कृति सबैलाई जोड्नु नै सच्चा राष्ट्रियता हो ।’
मुलुकलाई आर्थिकरुपले समृद्ध बनाउन नसके राष्ट्रवादका चर्का कुरा गरेर मात्र केही नहुने स्पष्ट पार्दै नेता भट्टराईले आर्थिक समृद्धि हासिल गर्ने स्पष्ट योजना र खाकासहित नयां शक्ति उदाएको बताए । ‘हामी नयां दलको संख्या थप्न आएका हैनौं,देश र जनतालाई १०–१५ वर्षमै आर्थिकरुपमा समृद्ध बनाउने कार्यभार पुरा गर्न नयां सोंच,शैली र योजनासहित आएका छौं,यसमा सबैको साथ आवश्यक छ ।’
भ्रष्टाचारमा डुबेका पुराना दल र नेताहरुबाट जनता वाक्क दिक्क भैसकेको हुंदा नयां शक्तिले भ्रष्टाचारविरुद्ध कठोर नीति लिएर जनताको भावना अनुसार काम गर्ने उनले बताए । नयां शक्तिका नेताविरुद्ध भ्रष्टाचारको उजुरी परेमा पदबाट निलम्बन र आरोप पुष्टी भए निस्कासन गर्ने भन्दै भट्टराईले आर्थिक समृद्धि हासिल गर्न विज्ञहरुको टोलीले गृहकार्य गरिरहेको जानकारी गराए ।
राजनीतिक स्थिरता र सुशासनका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने नयां शक्तिको अडान रहेको भट्टराईले बताए ।
अन्तरक्रियामा बोल्दै नयां शक्ति नेपालका केन्द्रीय परिषद सदस्य महेन्द्र पासवानले मधेश आन्दोलनका जायज माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड वाधक बनेको आरोप लगाए । उनले ओली र प्रचण्ड दुबै खोक्रो राष्ट्रवादी बनेको बताए ।
अन्तरक्रियामा उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी,उद्योगी डा.रामप्रसाद बस्याल,टिकाराम श्रेष्ठ,परमानन्द पाण्डे,सकिल अहमद,डम्बर बुढाथोकी लगायतले बोल्दै नयां शक्तिलाई जनमुखी र उद्योगी–व्यवसायीमैत्री पार्टी बनाउन सुझाव दिएका थिए ।
सो कार्यक्रममा एकीकृत माओवादीकी नेतृ क्षमाकुमारी खनाल,चिकित्सकहरु डा. अजय श्रीवास्तव,डा.संजयप्रसाद शाह,डा.मनोजकुमार कुशवाह लगायतका व्यक्तिहरु नयां शक्ति नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई नेता भट्टराईले स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता र संचालन नयां शक्ति नेपालका रुपन्देही संयोजक देबेन्द्र पाण्डे सागरले गरेका थिए ।
यसैबीच नेता भट्टराईले शुक्रबार नै भैरहवाको नयां सडकमा नयां शक्ति नेपालको जिल्ला पार्टी कार्यालय उद्घाटन गरेका छन् । शुक्रबार नै नेता भट्टराईले रुपन्देही क्षेत्र नंं. ३ को ४ नम्बरमा पार्टी कार्यकर्ता र शुभेच्छुकहरुसंग भेटघाट गरेका छन् । सो कार्यक्रमको अधयक्षता खिमानन्द न्यौपानेले र संचालन टोपबहादुर केसीले गरेका थिए ।
(((((((((((((((((((