बिशेष प्रर्दशनी सहित कलाकार सम्मान गरिदै

901

बिशेष प्रर्दशनी सहित कलाकार सम्मान गरिदै

copyrightबुटवल, बैशाख । रुपन्देहीका विभिन्न संघसंस्थाले चलचित्र बाटोमुनिको फूल–२ ले समाजमा रहेको जातीय छुवाछुतको बिषय उठान गरेको भन्दै निर्माता तथा कलाकारलाई सम्मान गर्ने भएका छन् । बैशाख २६ गते आईतबार बुटवलको भ्यू सिनेमा हलमा बिशेष प्रर्दशनी सहित चलचित्र निर्माता एंव नायक यश कुमार र नायिका अशिष्मा नकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेका हुन् ।
ठूलो चुनौतीका बिच समाजमा रहेको जातीय छुवाछुतको बिषयलाई ठूलो पर्दामा उतारेकाले कलाकारको प्रोत्साहनका लागि सम्मान गर्न लागिएको आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । सम्मानका लागि चलचित्र निर्माता एंव नायिका यश कुमार र अभिनेत्री अशिष्मा नकर्मी आउने कार्यक्रम रहेको मूल आयोजक सुनचाँदी व्यवसायी संघ बुटवल उपशाखाका अध्यक्ष दीपककुमार विश्वकर्माले बताउनुभयो ।
उहाँले कलाकारहरुको प्रोत्साहनका लागि बुटवलका दलित समुदाय आबद्ध व्यवसायिक र सामाजिक संघसंस्थाहरुले सम्मान कार्यक्रम राखिएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य जोगलाल विश्वकर्माले नेपालमा जातीय छुवाछुत समस्या अझै पनि बिकराल रहेको भन्दै २० लाख भन्दा बढि दलितको समस्यालाई चलचित्रमा कलाकारले उतारेर शाहसिक काम गरेको बताउनुभयो ।
सुनचाँदी व्यवसायी संघ बुटवल शाखा मुल आयोजक तथा सुनचाँदी व्यवसायी महिला समाज बुटवल, एस.के समाज रुपन्देही, परियार सेवा समाज रुपन्देही, नेपाल स्वतन्त्र सिलाई व्यवसायी समिति, दलित पत्रकार संघ नेपाल, दलित महिला संघ, बागेश्वरी संगितालय बुटवल सहआयोजक रहेका छन । आईतबार विहान साँढे ७ बजे हुने उक्त कार्यक्रममा बुटवलका दलित अधिकारकर्मी सहित संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहने छ ।
चलचित्र बाटो मुनीको फुल–२ मा यश कुमार, आशिष्मा नकर्मी, रीमा विश्वकर्मा, दिलिप रायमाझी, रिचा घिमिरे, बाबु बोगटीलगायतका कलाकारको अभिनय गरेका छन् । सामाजिक यथार्तपरक विषयवस्तुलाई समेटेर निर्माण गरिएको सो चलचित्रबाट निर्माता यशकुमार यस अघि अन्य ठाउँमा सम्मानित भईसक्नु भएको छ । पत्रकार सम्मेलन पत्रकार विनोद परियारको सञ्चालनमा भएको थियो ।