प्रधानमन्त्रीले सिकेसंगको सम्झौताको जवाफ दिनुपर्छ : पौडेल

802

प्रधानमन्त्रीले सिकेसंगको सम्झौताको जवाफ दिनुपर्छ : पौडेल

बुटवल, २८ फागुन । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतामाथी नै प्रहार गरेको बताउँदै प्रधानमन्त्री केपी ओलीले सिके राउतसंगको सम्झौताको जवाफ दिनुभयो बताउनु भएको छ ।
उहाले सिके राउतसंग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको बताउनु भयो । उहाले भन्नुभयो–‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ ।’
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिके राउतसंगको संझौतापछि नेपालमा पृथकताबादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुश्प्रर्चार गरिरहेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले सत्यको ढाकछोप गर्न र असत्यको प्रचारमा लागेको बताउँदै वाईड वडी जहाज खरिदमा लेखा समितिले घोटालामा संलग्न रहेको प्रतिवेदन विपरित स्वर्गीय रबिन्द्र अधिकारी निर्दोष देखाउन अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च मात्रै भएको बताउनु भयो । सरकारले आधिकारिक रुपमा छानविन गर्नुपर्नेमा दुधको साक्षि विरालो जस्तै बनेको उहाको भनाई छ । बरिष्ठ नेता पौडेलले प्रतिप्रश्न गर्दै भन्नुभयो—‘केपी ओली अदालत हो, अख्तियार प्रमुख हो ? कहि नभएको जात्रा हुदै गरेको छ ।’
उहाँले देशमा भ्रष्टाचार मौलाउदै गएको भन्दै सूनकाण्ड देखि चिनी काण्डसम्म सरकार असफल भएको दाबी गर्नुभयो । विप्लव नेतृत्वको नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उहाँले सरकारले अविलम्व वार्तामा बोलाएर अगाडी बढाउनकोलागि आग्रह गर्नुभयो । शान्ति सुरक्षा, शुसाशन र बिकास निर्माणमा सरकार पुर्ण रुपमा असफल भएको दाबी गर्दै उहाँले राष्ट्रियताको नारा बोकेर राष्टघाती काम गर्ने प्रधानमन्त्रीलाई कठघरामा उभ्याउनु पर्ने बताउनु भयो ।