बुटवल, २ असोज । बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा नजिक मोटरसाइकल भीरबाट खसेको छ । मोटरसाइकल भिरबाट खस्दा मस्याम–३, का गुनबहादुर बगालेको मृत्यु भएको छ ।
बगाले सवार लु २१ प ५५३३ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–५, सिद्धबाबानजिक भिरबाट खसेको प्रहरीले जनाएको छ । बगाले भीरबाट खसेपछि उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल लगेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बगाले सिद्धबाबामा बाटो बन्द भएपछि फर्केका थिए । फकिनेक्रममा माथिबाट ढुंगा खस्ने डरले सवारी साधन तीव्र गतिमा चलाउँदा अनियन्त्रित भएर भीरबाट खसेको हुनसक्ने े प्रहरीले जनाएको छ ।
शनिबार राती परेको अविरल वर्षाले पहिरो जादा सिद्धबाबामा सडक अवरुद्ध भएको थियो । राती ११ बजेदेखि बन्द भएको राजमार्ग बिहान ८ बजेदेखि मात्र सूचारु भएको थियो ।
सिद्धबाबा क्षेत्रमा हरेक वर्ष माथीबाट खसेको ढुंगाले च्यापेर धेरैको मृत्यु हुने गरेको छ । पानी पर्दा पहिरोको जोखिम अत्यन्तै हुने भएपनि कहिलेकाही चर्को घाम लाग्दा पहिरो सुख्खा पहिरो जाने गर्दछ । उक्त सडक प्रयोग गर्नेहरु सधै त्रासमा हुने गर्दछन् ।