काठमाडौँ ३ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नेपालको पहिलो सहिदलाई लखन थापालाई राज्यले उचित सम्मान गर्ने बताउनुभएको छ ।
प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले आज रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नेपालको राजनीतिक परिवर्तनमा प्रथम सहिदको योगदान र आगामी कार्यदिशा’ विषयक अन्तक्र्रियामा मन्त्री शाहीले पहिलो सहिदको नाताले लखन थापा प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री शाहीले गाडीले किचेको व्यक्ति र पहिरोले पुरेको व्यक्तिलाई सहिद बनाउँदा वास्तविक सहिदको अवमूल्यन भएको बताउनुभयो । उहाँले थापामगर कुनै जातिको भन्दा पनि राज्यको सहिद भएको स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले इतिहासमै मुलुकका लागि आफ्नो ज्यानलाई समर्पण गर्ने लखन थापालाई पहिलो सहिद बनाउन ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो– “मरेको १३९ वर्षपछि बल्ल सहिद घोषणा भएको छ ।” नेकपा (माओवादी केन्द्र)की सांसद केशरी घर्तीले लखन थापाले तत्कालीन समयमा गरेको विद्रोह नेपाल र नेपाली जनताप्रति भएकाले यसलाई राज्यले गम्भीररुपमा लिनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष रुलबहादुर आलेमगर, इतिहासविद् दिनेशराज पन्त, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, मगर सङ्घका अध्यक्ष नवीन रोकालगायतले नेपालको इतिहासमा सशस्त्र र सङ्गठित जनक्रान्तिको सुरुवात गर्दै राणा शासनको विरुद्धमा थापाले खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।