दुईमहिनामा सातवटा पुल बगायो

457

दुईमहिनामा सातवटा पुल बगायो

bridge

म्याग्दी, ६ असोज । म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई आवत–जावतमा समस्या भएको छ ।

बेनी—जोमसोम सडकको बेगखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उत्तरी म्याग्दी र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बेग–१ मा रहेको लिस्ने खोलाको झोलुङ्गेपुल भदौ १६ गतेदेखिको निरन्तरको पहिरोसँगै बगेको छ । बेग–६ स्थित बेनी जोमसोम सडकमा रहेको बेलिब्रिज र सोसँगै रहेको झोलुङ्गेपुल भदौ १६ गतेको बाढीले बगाएको थियो ।

कुइनेमङ्गले र मल्कवाङको सिमानामा रहेको फिरीखोला र ओखरबोटको फूलबारीदेखि निस्कोटमा रहेको रुमखोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा जाने झोलुङ्गेपुल बाढीले बगाएको जिविसका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

यसैगरी, गुर्जा–५ को मझधारा र धौलागिरि चक्रीय पदमार्गमा पर्ने मुदी–९ दोभानस्थित म्याग्दी खोलामाथि रहेको झोलुङ्गेपुलको लठ्ठा भिरबाट खसेको ढुङ्गा र पहिरोले छिनालेपछि आवत–जावत बन्द भएको छ । ओखरबोट–१ फूलबारी र निस्कोटको खहरे जोड्ने रितुङ खोलामाथि रहेको झोलुङ्गेपुल कटानका कारण जोखिममा परेको छ ।

बेगको औल हँुदै बादुक जाने बाटोमा बेगखोलामाथि रहेको झोलुङ्गेपुल पनि बाढी र पहिरोका कारण उच्च जोखिममा परेको छ । बाढीले क्षति गरेका झोलुङ्गेपुलको जिविस र टिबिएसयुको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर मर्मत तथा पुनर्निर्माणका लागि काम अघि बढाउन पहल भइरहेको असिस्टेन्ट सब इन्जिनियर पौडेलले बताउनुभयो ।

यसैबीच, पहिरो र पुलको लठ्ठा छिनेपछि अवरुद्ध भएको धौलागिरि चक्रीय पदमार्गको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । जिविसले पदमार्ग मर्मत र अस्थायी पुल बनाउन सहयोग गर्ने आश्वासन दिएपछि मुदी–९ बगरका बासिन्दाले पदमार्ग मर्मत सुरु गरेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो ।

दस दिनभित्र पदमार्ग मर्मतकार्य सम्पन्न गर्नेगरी गाउँले परिचालन भएको उहाँले बताउनुभयो । पर्यटक याम सुरु नहँुदै पदमार्ग खुलाउने लक्ष्य राखिएको छ । रासस