बुटवल, ७ असोज । तिहार महोत्सव स्थल बुटवल मण्डपमा ऐतिहासिक पाल्पा दरवारको झल्को दिने गरी गेट निर्माण गरिने भएको छ ।
आगामी कात्तिक ४ गतेदेखि १५ गतेसम्म हुने महोत्सवमा यसअघि निर्माण गरिने गरिएको भन्दा फरकपन दिनेगरी ऐतिहासिक तथा पर्यटकीय पाल्पा दरवारको प्रतिमासहित गेट निर्माण गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक खेम श्रीसले बताउनुभयो । श्रीसले भन्नुभयो, ‘पर्यटन प्रबद्र्धनका लागि पनि ऐतिहासिक तथा पर्यटकीय संग्राहलय पाल्पा दरवारको प्रतिमा निर्माण गर्दैछौं ।’ हाल महोत्सव स्थलमा स्टल निर्माण तथा सरसफाइको काम थालिएको श्रीसले बताउनुभयो । सचिवालय निर्माण गरी मेला स्थलबाटै तयारीका काम थालिएको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले यहाँ पहिलो पटक गर्न लागेको प्रथम ‘राष्ट्रिय औद्योगिक, कषि, पर्यटन प्रवद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सव २०७३’ को तयारी तीब्र पारिएको संगठनका केन्द्रीय सदस्य खिमनारायण पराजुलीले उल्लेख गर्नुभयो । महोत्सवको लागि हालसम्म तीन सयवटा स्टल दर्ता भइसकेको पराजुलीले जानकारी दिनुभयो ।
उहाँले औद्योगिक, कृषि, पर्यटन, हस्तकला लगायतका स्टलहरुलाई छुट्टा छुट्टै पेभेलिएन बनाएर ब्यवस्थित गर्न लागिएको उल्लेख गर्नुभयो । महोत्सवमा करिव ४ सयदेखि ५ सयसम्म स्टलहरु रहने हुने उहाँले बताउनुभयो । त्यसमध्ये ४० देखि ५० वटासम्म विदेशी स्टलहरु सहभागी हुने पराजुलीको भनाई छ ।
महोत्सवमा तिहार विशेष भैलो कार्यक्रम गरिने र त्यसमा उटको नाच पनि प्रर्दशन गरिने सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक गोविन्द गैरेले जानकारी दिनुभयो । त्यस्तै तिहारका समाग्रीहरु किनबेचमा बजारमूल्य भन्दा सस्तो पर्नेगरी व्यवस्था मिलाउन लागिएको संगठनका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमिति संयोजक सिताराम रसाईलीले बताउनुभयो ।
तिहार महोत्सवको लागि १ सय ५१ सदस्यीय मूल आयोजक समिति, ३० सदस्यीय सचिवालय समिति तथा ३४ वटा उपसमितिहरु बनाएर महोत्सवको तयारी तीब्र पारिएको प्रचारप्रसार संयोजक केशव श्रीसले बताउनुभयो । महोत्सवको मुख्य आकर्षण महिला कुस्ती प्रतियोगिता हुने बताइएको छ ।
तिहार महोत्सवमा महिला तथा पुरुषका छुट्टाछुट्टै कुस्ती प्रतियोगिता गराइने आयोजकले बताएका छन् । लोकदोहोरी गीत, नृत्य तथा डीजेको प्रस्तुति समेत रहने बताइएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुनेछन् । महोत्सवमा उपभोग्यबस्तुको प्रदर्शनी, किनबेच तथा कृषि र पर्यटन प्रवद्धनका कार्यक्रमहरु गरिने बताइएको छ । महोत्सव ३ लाख मानिसले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् ।