दुर्घटनामा प्रध्यापक र निर्माण व्यवसायीको निधन

339

दुर्घटनामा प्रध्यापक र निर्माण व्यवसायीको निधन
 तस्वीर सांसद चन्द्र भण्डारीको फेसबुकबाट

तस्वीर सांसद चन्द्र भण्डारीको फेसबुकबाट

सांसद भण्डारीद्वारा दुःख व्यक्त
बुटवल, ८ असोज । बुटवल–पाल्पा सडक खण्डको चर्चरेमा कार दुर्घटना हुंदा दुई जनाको ज्यान गएको छ । एक घाइते छन् । चर्चरेमा शुक्रबार राति बा १४ च ९३६४ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी तम्घासका ५५ वर्षिय रामप्रसाद पन्थ र ४७ वर्षका कृष्ण भण्डारीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भण्डारी रेसुङगा क्याम्पस तम्घास गुल्मीका प्रध्यापक र पन्थ निर्माण व्यवसायी हुनुहुन्थ्यो ।

कार चालक तम्घास–२ का ५८ वर्षका देवीराम पन्थी गम्भीर घाइते भएको र उहाँको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा प्रारम्भिक उपचारपछि शनिबार बिहानै भरतपुर रिफर गरिएको अस्पतालले जनाएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । कार सडकबाट तल खसेर दुर्घटना भएको हो ।

यसैबीच गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले शोक वक्तव्य जारी गरि निर्माण व्यवसायी पन्थ र प्रध्यापक भण्डारीको निधन भएकोमा दुःख व्यक्त गर्नु भएको छ । उहांले जारी गरेको वक्तव्यमा रेसुङगा क्याम्पस गुल्मीका प्रध्यापक कृष्ण भण्डारी र निर्माण ब्यबसायी तथा समाज सेवी राम प्र पन्थ को दुर्घटनाबाट निधन हुन पुगेकोमा हामीलाइ दु:खी बनाएको छ भनिएको छ ।

उक्त सडक खण्डमा हुने दुर्घटनालाई बिडम्वना भन्दै सांसद भण्डारीले हरेक वर्ष बुटवल तानसेन तम्घास सडकबाट घेरै बन्धु बान्धव गुमाउने हाम्रो नियती बनि सकेको छ ।