हतियार देखाई लुटपाट गर्ने गिरोह पक्राउ

1.3K

हतियार देखाई लुटपाट गर्ने गिरोह पक्राउ

hatiyar

बुटवल, ८ असोज । चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना संचालन गरेको इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार देखाई लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । पेस्तोल, खुकुरी देखाई गरगहना, मोबाईल लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न ६ जना, चोरिका गहना सस्तो मुल्यमा खरिद गर्ने दुई जना र मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी गराउनुभयो । चोरी डकैटीमा प्रयोग भएको कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली, खुकुरी, दाउ, खुडा पांच थान, चोरीमा प्रयोग भएको लु ८ प ७५८३ नम्वरको मोटरसाईकल र ११ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

प्रहरीले आज बुटवलमा पत्रकार सम्मेलन गरी चाडपर्व केन्द्रित विशेष सुरक्षा संचालन गरिएपछि ठुलो सफलता प्राप्त गरेको जनाएको छ ।
लुटपाटमा संलग्नहरु दुई देखि २० वर्ष सम्म विभिन्न घटनामा सजाई पाई सकेका रहेको डिएसपी मरासिनीले जानकारी गराउनुभयो । उहांले सुन, चादी व्यवसायीलाई बिल नभएका सुन खरिद नगर्न आग्रह गर्नुभयो ।

lutera

लुटपाट गर्ने ६ जना पक्राउ

लुटपाटको अभियोगमा पक्राउ पर्नेमा ठुलोलुम्पेक–२, गुल्मीका ३२ वर्षिय अर्जुन वि.क., बन्दीपोखरा–३ पाल्पाका २५ वर्षिय पाल्पाली भनिने राजन थापा, दाउन्नेदेवी–७, नवलपरासीका २५ वर्षिय अमर सोमै रहेका छन् । त्यसैगरी हतियार देखाई लुटपाटमा संलग्न रहेकै अभियोगमा बुटवल–१३, रुपन्देहीका २७ वर्षिय कृष्ण परियार, कोलडांडा–९, पाल्पाका ३० वर्षिय चित्र बहादुर राना, बुटवल–१३, रुपन्देहीका ३७ वर्षिय भिम बहादुर सुनार रहेका छन् ।

gold

सुन खरिद गर्ने दुई पक्राउ
चोरी गरी ल्याएको बिल नभएको सुन खरिद गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सैनामैना–४, रुपन्देहीका ३१ व्र्षिय राजु सुनार र बुटवल–१३ का ३० वर्षिय ज्ञानु सुनार रहेका छन् ।

bike

मोटरसाईकल चोरी गर्ने तीन पक्राउ

गत भदौ १९ गते बुटवलको हस्पिटललाईनमा पार्किङ गरेको लु ११ प ६४३५ नम्वरको मोटरसाईकल चोरी गरेको अभियोगमा बाणगंगा–१०, कपिलवस्तुका २१ वर्षिय जनक क्षेत्री पक्राउ परेका छन् ।

त्यस्तै यही असोज ६ गते बिहीबार बुटवलको पुष्पलाल पार्कमा पार्किङ गरेको लु १० प ५४७२ नम्वरको मोटरसाईकल चोरी गरेको अभियोगमा घोराही–११, दाङका २२ वर्षिय दिनेश चौधरी र घोराही–११ दाङकै २८ वर्षिय सुमन चौधरी पक्राउ परेका छन् । प्रहरीले बैंक तथा वित्तिय संस्थालाई लक्षित गरेर अपरेसन गर्ने, आफ्नो कार्यक्षेत्रमा पर्ने राजमार्ग क्षेत्रमा विशेष सुरक्षा योजना बनाएको यस अघी पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

प्रहरीले सुनचाँदी पसल, बैंक तथा वित्तिय संस्थामा विशेष अपरेसन सञ्चालन गर्ने, ट्यापे, मुन्द्रे, गजेडी जस्ता शंकास्पद् व्यक्तिलाई सर्च गर्ने, बसमा हुने लुटपाट तथा सम्भावित रात्रीकालिन अपराधिक गतिबिधी रोक्न व्यापक रुपमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षत्रमा पर्ने पूर्वमा देवदहदेखि पश्चिममा सालझण्डी सम्मको जंगल ईलाकामा प्रहरी गस्ती परिचालन गरिने प्रहरीको सुरक्षा योजना छ । दशैंमा हुने संभावित चोरी डकैति नियन्त्रण गर्नकालागि पनि प्रहरीेले शहर केन्द्रित गस्ती परिचालन गर्ने प्रहरीको तयारी छ ।