लुम्बिनीका पहाडी जिल्लालाई ५ बाट छुट्याउनु हुन्न : मन्त्री खाँण

465

लुम्बिनीका पहाडी जिल्लालाई ५ बाट छुट्याउनु हुन्न : मन्त्री खाँण

bucci-khad

बुटवल, ९ असोज । रक्षा मन्त्री बालकृष्ण खाँणले संविधानको कार्यान्वयनमा संविधान जारी गर्दा संगै रहेका सबै दलहरुको साझा दायित्व भएको बताउनु भएको छ ।

उहाँले संविधान कार्यान्वयनमा कसैलाई पनि नचुक्न आग्रह गर्नुभयो । अहिले सरकार र राजनीतिक दलहरुको मुल दायित्व संविधान कार्यान्वयन गर्ने भएको बताउँदै उहाँले यो साझा दायित्व पुरा गर्न सबैलाई आग्रह गर्नुभयो ।

बुटवल उद्योग बाणिज्य संघले आज बुटवलमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले लुम्बिनी अञ्चलका पहाडी जिल्लालाई प्रदेश नं. ५ बाट छुट्याउने कुरामा बिमत्ति व्यक्त गर्नुभयो । लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँचीलाई प्रदेश नं. ५ बाट छुट्याएर प्रदेश नं. ४ मा राख्ने गरि संविधान संशोधन चर्चा चलिरहेका बेला उहाँले प्रदेश नं. ५ का जनताको भावनाको कदर तथा यो प्रदेशको समृद्धिकालागि पनि लुम्बिनी अञ्चलका पहाडी जिल्लालाई छुट्याउन नहुने जिकिर गर्नुभयो ।

लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँची तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र नवलपरासी अभिन्न अंग भएको उल्लेख गर्दै उहाँले लुम्बिनी अञ्चलका पहाडी जिल्ला र तराईका जिल्ला बिच लेक र बेसीको सम्बन्ध रहेकाले छुट्याउन नहुने उहाँको भनाई छ । उहाँले सकेसम्म नवलपरासीलाई पनि खण्डित नहुने गरी प्रदेश नं. ५ मा नै आउन आग्रह समेत गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँणले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा यस प्रदेशमा रहेका उद्योग बाणिज्य संघको संयुक्त बैठक बसेर त्यसको निर्णय लिन आग्रह गर्दै त्यस्तो निर्णयको पक्षमा आफूले वकालत गर्ने बताउनु भयो । त्यसको नेतृत्व बुटवल उद्योग बाणिज्य संघलाई गर्न उहाँले आग्रह गर्नुभयो ।

शान्तिका अग्रदुत गौतमबुद्धलाई सम्मान गर्दै भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थललाई समेत अधिकतम प्रयोग गर्नेगरी संघीय प्रदेशको राजधानी बनाउन उपर्युक्त हुने उहाँको भनाई छ ।

सो अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, महासचिव हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीलगायतले यस क्षेत्रको औद्योगिक बिकासमा सहयोग गर्न आग्रह गर्दै प्रदेश नं. ५ को संघीय राजधानी रुपन्देहीको बुटवलमा बनाउन आग्रह गर्नुभएको थियो ।