बुटवल, ९ असोज । रुपन्देहीका अस्थायी शिक्षकले जिल्ला शिक्षा कार्यालयको परिषरमै अस्थायी शिक्षक विवरण फारम जलाएका छन् ।
अस्थायी शिक्षक आन्दोलन समितिले जिल्ला शिक्षा कार्यालय रुपन्देहीको परिषरमा तीन घण्टा धर्ना दिएर अस्थायी शिक्षक विवरण फारम जलाएको आन्दोलनका अध्यक्ष दयाशंकर गुप्ताले बताउनु भयो ।
शिक्षा ऐन आठौं संशोधनमा व्यबस्था भए बमोजिम आन्तरिक प्रतिस्पर्धाको लागि हुने विज्ञापनमा फारम भर्ने अन्तिम मिति सम्म अवकास वा प्रतिस्पर्धा रोज्न पाईने भएपनि सरकारले जवरजस्ती फारम भराएकाले विवरण फारम जलाईएको उहाँले बताउनु भयो ।
जिल्लामा करिव साढे चार सय अस्थायी शिक्षक भएपनि उक्त बिरोध कार्यक्रममा भने करिव ३ सय सहभागि भएको उहाँले बताउनु भयो । अस्थायी शिक्षक आन्दोलनमा एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, शिक्षक युनियन, नेपाल शिक्षक संघ लगायतको संस्थाले ऐक्यवद्धता जनाएको बताईएको छ ।