भारतीय माछालाई छपियाको भन्दै बिक्री

1.3K

भारतीय माछालाई छपियाको भन्दै बिक्री

fish

दशैबजारमा छपियाको माछा प्रतिकिलो तीन सय रुपैंयामा बिक्री

कबिन्द्र नेपाल/

बुटवल, १९ असोज । नेपाली बजारमा भारतीय माछाको आयातले नेपाली किसानद्वारा उत्पादन भएको माछाले राम्रो बजार पाउन सकेको छैन ।

मानिसको स्वास्थ्यका हिसावले भारतबाट आयात गरिएको माछा खान उपर्युक्त पनि छैन । माछालाई लामो समयसम्म नसडाई राख्नकालागि फर्मालिन नामक विषादी प्रयोग गरिएको हुन्छ । उक्त विषादी मानिसको मृत शरीर नसडाउनकालागि प्रयोग गरिन्छ । जुन विषादी मानव स्वास्थ्यका लागि निकै हानिकारक छ ।

माछा उत्पादनका हिसावले रुपन्देहीको छपिया प्रसिद्ध भईसकेको छ । तर त्यहाँका किसानले उत्पादन गरेको माछाले उचित बजार पाउन नसकेको छपियाका माछा किसान तथा नेपाल मत्स्य व्यबसायी संघका केन्द्रीय कोषाध्यक्ष गोपालप्रसाद सापकोटा बताउनु हुन्छ । उहाँका अनुसार भारतबाट खुलेआम आयात हुने माछा मानव स्वास्थ्यकालागि हितकर छैन तर उताबाट आएको माछा पनि छपियाको माछा भनेर उपभोक्तालाई झुक्याएर बिक्री भईरहेको छ ।

‘बजारमा छपियाको माछा प्रतिकिलो ३ सय ६० रुपैँयामा बिक्री भईरहेको छ । उत्पादन लागतका हिसावले किसानले यो भन्दा कममा बेच्ने आधार छैन ।’ छपियामा सञ्चालित जलदेवी मत्स्य उत्पादक सहकारी संस्थाका उपाध्यक्ष टंकप्रसाद ज्ञवाली भन्नुहुन्छ–‘भारतबाट आयात भएको माछालाई छपियाको माछा भन्दै २ सय ५० रुपैंया सम्ममा बजारमा बिक्री गरिरहेका छन् ।’

करिव ५० प्रतिशत नेपाली उत्पादनले बजार ओगटेपनि भारतबाट आयात भएको माछाका कारण नेपाली उत्पादन प्रवद्र्धन हुन नसकेको उहाँ बताउनु हुन्छ । माछामा आत्मनिर्भर हुनकालागि माछा सम्बन्धि बिभिन्न संघ संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् । अवको तीन वर्ष भित्रमा माछामा जिल्लालाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बताउँदै संघका केन्द्रीय कोषाध्यक्ष सापकोटाले पोखरीको गुणस्तर बिकास, उत्पादन क्षेत्र बिकास, किसानलाई तालिम तथा प्रचार प्रसार र प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताउनु भयो ।

सोही प्रवद्र्धनात्मक कार्यक्रम अन्तरगत नै उपभोक्तालाई विशेष सहुलियतमा बिक्री वितरणकालागि बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजारमा संघमा आवद्ध सदस्यहरु माछा स्टल राखेका छन् । बजारमा ३ सय ६० रुपैंयामा बिक्री भईरहेको माछालाई प्रतिकिलो ३ सय रुपैंयामा बिक्री गरेको उहाँले बताउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघले दशैंको शुभारम्भ घटस्थापनादेखि सञ्चालन गरेको उक्त दशैं सस्तो बजारमा बुधबार सम्म एक क्वीनटल माछा बिक्री भएको छ । जसले नेपाली किसानले उत्पादन गरेको माछाको राम्रो प्रवद्र्धन गरेको बुझाई छ ।