खेमानन्द पाठक\बुटवल,२१ असोज भारतिय पक्षले अघोषित रुपमा गरेको नाकाबन्दी संगै ईन्धनमा कटौती गरेसगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इन्धन आपुर्तीलाई सहज बनाउनका लागि इन्धनमा आलोपालो व्यवस्था मिलाएको छ ।
विभिन्न जिल्लाबाट माग भइ आए बमोजीमको इन्धनको हकमा प्रत्येक जिल्लालाई ६ हजार लिटरका दरले डिजल पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, लमजुङ, गोरखा , रोल्पा, बाग्लुङ, म्याग्दी जिल्लामा पनि ६/६ हजार लिटरका दरले डिजल पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।
नवलपरासी र कपिलबस्तु जिल्लाको हकमा पहिलो पटकलाई नवलपरासी दाउन्ने पारी गैँडाकोट सम्म ६ हजार लिटर र दाउन्ने वारी १२ हजार लिटर डिजल पठाउने निर्णय गरेको छ । त्यस पछि १ दिन विराएर नवलपरासी र कपिलबस्तुमा १२/१२ हजार लिटर डिजल पठाउने निर्णय गरिएको बताए ।
त्यस्तै कृषकहरुलाई सम्बन्धित गा.वि.स.को सिफारिसमा प्रत्येक घरधुरीलाई ५ लिटर मात्र डिजल उपलब्ध गराउने र निजी सवारी साधनहरुलाई हाललाइ इन्धन उपलब्ध नगराउने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
उनले जोर दिनमा जोर नम्वरको गाडीलाई र विजोर दिनमा विजोर नम्वरका गाडीहरुलाई मात्र इन्धन उपलब्ध गराउने बताए । प्रजिअ ढकालका अनुसार लामो दुरीका चारपाङ्ग्रे सवारीसाधनलाई बढीमा ५० लिटर र छोटोदुरीका चारपाङ्ग्रे सवारीसाधन लाई बढीमा २० लिटर मात्र इन्धन दिइने निर्णय भएको छ ।
त्यस्तै सुरक्षा निकायका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, विद्युत, दुरसंचारलाई आवश्यकता अनुसार इन्धन उपलब्ध गराइने, स्थानिय रुटमा चल्ने सवारी साधनलाई ५/५ मिनेटमा नछाडी २०/२० मिनेटमा छुटाउने व्यवस्था सम्बन्धित निकायले मिलाउनु पर्ने, सिट फुल भए पछि मात्र बसहरु छाड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा अनुरोध गर्ने पेट्रोल र डिजल एकै दिन एउटै पम्पलाई नदिने र सुरक्षा निकायका लागी डेड स्टक घटाई कम्तिमा पनि ५ सय लिटर इन्धन मौज्दात राख्ने व्यवस्था प्रत्येक पम्पले मिलाउने पनि निर्णयमा उल्लेख छ ।
उपलब्ध भएका इन्धनलाई असोज २१ गते आज न्यू दुर्गा आयल बुटवल, शिवशक्ति ट्रडर्स बुटवल, नमोबुद्ध आयल देवदह, गैरे पेट्रोलियम बुद्धनगर, एम.एस. ट्रेडर्स बुटवल, कालिका आयल बुटवल, चन्द्रा इन्टरप्राइजेज पडसरी र जाफरी ट्रेडर्स भलवारीले वितरण गर्ने छन ।
असोज २२ गतेका दिन संगम आयल भैरहवा, विशाल इन्टरप्राइजेज पडसरी, ओम बाबा आयल लुम्बिनी रोड, वालिङ डिजल्स मणिग्राम, ज्योती केन्द्र बेटवल, नेपाल पेट्रोलियम भलवारी, बुटवल डिजल्स बुटवल, र शंकर पेट्रोलियम मंगलापुर ले इन्धन वितरण गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
–