परम्परागत सराय नाच सम्पन्न

1.6K

परम्परागत सराय नाच सम्पन्न

saraya-pic
खेमानन्द पाठक/बुटवल,२९ असोज दसैंको अन्तिम दिन कोजाग्रत पुर्णिमाको अवसरमा बुटवलमा सराय नाच निकालिएको छ । विजयको उल्लास स्वरुप खेलिदै आएको परम्परागत सराय नाच बुटवलमा पनि प्रर्दशन गरिएको हो । लुम्विनी अञ्चलका पहाडी जिल्लाहरु अर्घाखाँची,गुल्मी,पाल्पामा परम्परागत रुपमा वडादसैँको अन्तिम दिन खेलिने सराय नाच बुटवलमा पनि विभिन्न वाजागाजा र घरेलु हतियार सहित निकालिएको थियो । बुटवल १३ देविनगरमा रहेको नवदुर्गा मन्दिर समितिले विगत ५ वर्ष देखि सराय नाच निकाल्दै आएको मन्दिरका अध्यक्ष अर्जुन कुँवरले बताउनु भयो । त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा त्यतिबेलाका खुँडा,तरवार,खुकुरी लगायतका हतियार बोकेर विजयको उल्लास मनाउने गरिएको स्मरण गर्दै अहिले भने काठका हतियारहरु प्रर्दशन गर्दै नाच्न थालिएको हो । पहाडि जिल्लाहरुबाट बसाई–सराई गरी बुटवल झरेका समुदायमा यो नाच अझैपनि लोकप्रिय रहेको छ ।सराय नाच आयोजक समितिका संयोजक यज्ञश्वर मरासिनीले असत्य माथि सत्यको जित भएको खुसियालीमा निकाल्ने गरिएको सरायनाचको संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यले नाचको आयोजना गरिएको बताउनु भयो ।पहिले हतियार प्रर्दशन गरी नाचिने नाच पछिल्लो समयमा बढ्दै गएको असुरक्षाका कारण काठको हतियारहरु लिएर नाच्न थालिएको छ । पहिले घरेलु हतियारहरु पहाडि क्षेत्रमा रहेका देविका मन्दिरहरुमा रहेका परम्परागत हतियारहरु प्रदैशन गरि परम्परा देखि नै कोजाग्रत पुर्णिमाको दिन घरेलु हतियार नचाएर नाचिने सराय नाच पछिल्लो केहि वर्ष देखि बुटवलमा पनि लोकप्रिय बढ्दै गएको छ । पुर्खाले चलाएको सराय नाचलाई जिवितै राख्न युवाहरुले पनि अग्रसरता देखाएका छन् ।सराय नाच हेर्न तथा नाच्नका लागी हजारौंको संख्यामा स्थानियको भिड लागेको थियो । देवि भगवतीको विजयको उत्सवका रुपमा खेलिने सरायनाच आधुनिकता सँगे लोप हुन लागेकाले नेपाली संस्कार तथा संस्कृतिलाई संरक्षण गर्ने उदेश्यले निकालिएको आयोजकको भनाई छ । कोजाग्रत पुर्णिमाका दिन विभिन्न स्थानमा रहेका कोटघर,देविको मन्दिरमा सराय नाच नाचिने परम्परागत प्रचलन रहेको छ । सराय नाचमा युवापुस्ताले पनि निकै रुचिका साथ सहभागिता जनाएका थिए । पछिल्लो केहि वर्षयता पहाडि जिल्लाको संस्कृति तराई केन्द्रित बन्दै गएपछि पहाडमा नदेखेका र तराईमा रहेकाहरुलाई पनि संस्कार संस्कृतिको महत्व बढ्दै गएको देखिन्छ ।