भान्जीलाई छोरीको नागरिकता !

1.3K

भान्जीलाई छोरीको नागरिकता !

nagarakita

बुटवल, ३ कात्तिक । रुपन्देहीको विष्णुपुरा गाउँ बिकास समिति वार्ड नं. १ ठकुरापुर निवासी शमुझ अहिरको बिक्रम संवत २०६८ सालमा निधन भयो । शमुझको एक मात्र सन्तानका रुपमा ५१ वर्षीय छोरी अकालमति अहिरिन हुनुहुन्छ ।

तर समुझको निधन भएपनि दोस्रो छोरीको रुपमा कपिलबस्तु डुमरा मैनीहवाकी केवला अहिरिन नागरिकता लिएर आएपछि ठकुरापुरका स्थानीय अचम्ममा परे । स्थानीयका अनुसार केवला अहिले रुपन्देहीको साढी गाउँ बिकास समिति वार्ड नं. १ दर्खसवामा बस्नुहुन्छ । शमुझको निधनमा काजकिरिया गर्न समेत राम्रो संग नसकिएको स्थानीय बताउँछन् ।

ठकुरापुरमा शमुझको ९ विगाहा भन्दा बढी जग्गा जमिन छ । सोही जमिनमा आँखा गाडेर नाताले भान्जी पर्ने केवलाले सोही गाउँ बिकास समितिबाट सिफारिस बनाई कृत्य नागरिकता तयार पारेको विष्णुपुरा १ ठकुरापुरका पूर्व वार्ड अध्यक्ष मोतिलाल यादव बताउनु हुन्छ । नाताले भान्जी पर्ने केवलाले कपिलबस्तु जिल्लाबाट २०४६ जेठ १६ गते नै शमुझको छोरी भएको नागरिकता बनाएपनि शमुझ जिउँदो हुँदासम्म उनले कुनै अंश दावी गरिनन् । शमुझ तथा उनका परिवारलाई पनि यस्तो कृत्य काम भएको थाहा भएन ।

बाबुको मृत्यु पछि जव केवलाले अदालत मार्फत अंश दावी गरिन शमुझकी छोरी अकालमती छागाबाट खसीन् । बाबुकी एक्ली छोरी अकालमतीलाई हुँदै नभएकाले दोस्री छोरीको रुपमा केवला अंश दावी गर्दै आएपछि पिडा नपरोस पनि कसरी ? छिमेकीहरु पनि अकालमती बाहेक शमुझको अरु कुनै सन्तान नभएको बताउँछन् । छिमेकी रामसेवक बासीले शमुझको अकालमती बाहेक अरु कुनै सन्तान नै नभएको र सम्पत्ति माथि आँखा गाडेर केवलाले कृत्य काम गरेको जिकिर गर्नुभयो ।

जिल्ला अदालत मार्फ आधा अंशमा माग दावी गरेकी केवला विरुद्ध अकालमतीले पुनरावेदन गर्नुभएको छ । हुँदै नभएको छोरी भएको भनी कृत्य नागरिकता बनाएकाले अकालमतीले केवलालाई प्रदान गरिएको कृत्य नागरिकता बदर गर्न कपिलबस्तु जिल्ला प्रशासनलाई आग्रह गर्नुभएको छ ।

नाताले भान्जी पर्ने केवलालाई शमुझको छोरीका रुपमा स्वीकार्नै नसकिने बताउँदै अकालमतीले कृत्य गरि बनाएको नागरिकता बदर गर्नुपर्ने बताउनु भयो । जिल्ला अदालतले भने केवलाको पक्षमा मुद्धा फैसला गरेको छ । उक्त मुद्धाका सम्वन्धमा कपिलबस्तु जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरीले स्थलगत अवलोकन गरि शमुझकी अकालमती बाहेक अरु कुनै सन्तान नभएको सर्जमिन मुचुल्का उठाएपनि जिल्ला प्रशासन कार्यालयले सर्जमिन मुचुल्का अनुसार अदालतमा बयान नगरेको स्थानीयको आरोप छ ।

समाजसेवी भरथरी यादवले शमुझकी एक मात्र छोरी अकालमती प्रशासन मार्फत अन्यायमा परेकाले सिंगो समाज उनको न्यायकालागि लडेको बताउनु भयो । उहाँले भन्नुभयो–‘अकालमतिलाई न्याय दिलाउनकालागि पहिले जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले केवलालाई कृत्य गरि प्रदान गरेको नागरिकता खारेज गर्नु पर्छ । अन्यायमा परेकी महिलालाई न्याय मिल्छ भन्ने हामीले विश्वास लिएका छौं ।’