
मिना पौडेल/
देवदह, ५ कात्तिक । देवदह नगरपालिका ६ (नाम परिवर्तन) बिन्दु थापाले अग्नीलाई साक्षी राखेर संगै बाच्ने कसम खाएका श्रीमानबाट कहिल्यै पनि कल्पना नगरेको धोका खादा अहिले विगतलाई सम्झदा सपना जस्तै लागेको छ । श्रीमानले आफुलाई जीवन भरि पुग्ने गरी धोका देलान् जीवनको आधा बाटोमा आइपुग्दा यस्तो अवस्थामा पु¥याउलान् भन्ने कल्पना नगरेकी विन्दु आजभोली विगतलाई सम्झीदै पश्चतापको खाडलमा नराम्रो संग फसेको पिडा व्यक्त गर्दा उनको पिडा सुन्नेहरुलाई एकपटक नराम्रो संग स्तब्ध बनायो ।
भविष्यको सुनौलो सपना देखेर आफ्ना आमाबाबुले रोजीदिएको र खोजीदिएको केटा संग बैवाहिक सम्बन्धमा बाधिएकोे १२ वर्ष भयो, तर उनको पहिचान खुल्नेगरी नागरिकता अहिले सम्म बन्न सकेको छैन । उनको श्रीमानले अर्को बिहे गरेका कारण उनको नागरिकता अझै बन्न नसकेको हो । पीडित थापाका अनुसार “विवाह भएको १२ वर्ष भयो साथमा एउटा छोरा पनि छ, छोराको अहिले सम्म जन्मदर्ता सम्म नहुँदा आफु जीवन मरणको दोसाधमा रहेको पिडा व्यक्त गर्दछिन्, सुख दुखमा साथ दिने श्रीमान बाट दिनहुँ शारिरीक, मानसिक यातना दिने गर्दै, कुटपिट गर्छन्, मैले जति सहे पनि न्याय पाउन सकिन”
महिला हिंसामा बिन्दु मात्र नभई देवदह ८ की सानुमायाको कथा पनि थापाको भन्दा कम छैन् । उनको पनि विबाह भएको ९ वर्ष भयो साथमा २ वटा सन्तान पनि छन् । तर उनको श्रीमानले ति दुई सन्तान आफ्नो नभएको आरोप लगाउदै दिनहुँ शारिरीक मात्र होइन मानसिक यातना दिदै आएको बताइन् । आफ्नो लागि न्याय दिने यो समाजमा कोही नभएको पिडा व्यक्त गरिन् । श्रीमानले परपुरुष संगको नाता जोडेको आरोप लगाउदै दिनँहु मानसिक तनाव दिने गर्दछन् । पीडित सानुमाया भन्छिन् “विवाह भएको यतिका वर्ष भइसक्यो तर पनि मेरो श्रीमानले मलाई यस्तो आरोप लगाउदै आएका छन् । छिमेकी र आफन्त संग बोलीचाली हुदा पनि शंकाको नजरले हेर्छन् । अनि घरमा अशान्तिको बातावरण सृजना हुन्छ ।
सरकारले महिलाहरुलाई ३३ प्रतिशत महिला अधिकार दिएपनि व्यवहारिक रुपमा लागु हुन नसक्दा महिलाहरु अन्यायको चपेटामा पिल्सिन बाध्य छन् । महिलाहरु खुलेर समाजमा प्रस्तुत भए परुषसंगको नातालाई जोडेर बिभिन्न प्रकारका लाञ्छनाहरु लगाइएका हुन्छन् । यस्ता आरोप विगत लामो समय देखि आफुले खेप्दै आएको उनी संग अनुभव भएको बताइन् । महिलाहरु शिक्षित नभएकाले धेरै महिलाहरु यस्ता अन्याय अत्याचार शोषणको चपेटामा परेका हुन् ।
अशिक्षीत महिलाहरु मात्र होइन आधुनिक समाजको निर्माण संगसंगै शिक्षित र जागिरे महिलाहरु पनि घरेलु हिंसाको चपेटामा परेका छन् । यस्तै उदाहरणकी पात्र हुन देवदह ८ की सिता घिमिरे, सक्षम नारी हुदाहुदै पनि उनी महिला हिंसाको शिकार हुन पुगेकी छिन । उनी भन्छिन्“ मेरो श्रीमान पनि जागिरे हुनुहुन्छ, म पनि एउटा बैकमा काम गर्दछु, हाम्रो साथमा कक्षा ६ मा पढ्ने १२ वर्षको छोरो पनि छ । तर मेरो श्रीमान लगायत मेरो घरका सदस्यहरुले मलाई मेरो छोरोबाट टाढा राख्ने गरिन्छ । मलाई बिभिन्न आरोप लगाउदै परपुरुषको नाता जोडेको घर परिवारले आरोप लगाउदा मानसिक रुपमा नराम्रो संग आघात परेको छ । मैले दश महिना सम्म कोखमा राखेको दश धारा दुध खुवाएर हुर्काएको छोरा संग अहिले मलाई टाढा राखिएको छ । यो पिडाका कारण आजभोली रातको निद दिनको भोक हराएको छ उनले भनिन् ।
यस्तै गरी घरेलु हिंसाबाट नराम्रो संग थिचिएकी देवदह ८ कै उषा कनौजेको पनि जीवनमा धेरै आरोह अवरोह आएको छ । उनको पनि २०६५ सालमा प्रहरीमा कार्यरत जवानसंग प्रेम बन्धनमा बाधिएपछि एकाएक उनको जीवनमा आधि हुरी मात्र आइरह्यो । सानै उमेमा बिवाह बन्धनमा बाधिएकी उषालाई यतिबेला आफ्नो उमेर परिपक्क भएपछि जीवनको महत्व थाहा हुन थालेको छ । पीडित उषा भन्छिन् “हाम्रो प्रेम विबाह भएपछि शुरुका दिनहरु तँ राम्रैसंग चलेको थियो । छोरा पनि जन्मियो जब छोरा ३ महिनाको भयो अनि मेरो श्रीमानको अन्तै सरुवा भयो । त्यसपछि हाम्रो सम्पर्क हुन सकेको छैन । छोराको जन्मदर्ता पनि भएको छैन । श्रीमानको घर ठेगान केही थाहा छैन । बाकीको जीवन कसरी चलाउ, छोराको भविष्य कसरी बनाउ अन्यौलमा छु ।”
महिला हिंसा न्युनिकरण कसरी रोकथाम गर्न सकिन्छ भन्ने प्रश्नमा अधिवक्ता डासीराम पाण्डे भन्छन् ” महिलाहरु यदि आफुलाई भएको हिंसाको अनुभुति भए हिंसा सहनुभएन, आफु हिंसामा परेको भए महिला स्वयम न्यायँको पहुँच भएको ठाउँमा जानुपर्छ, हिंसाको प्रकृति अनुसार लागि राज्यले गरेको व्यवस्था संरचनागत रुपमा कार्यान्वयनमा नआएको हुदा नागरिक समाज, मिडियाले पनि उल्लेखनिय भूमिका निभाउनुपर्छ, । राज्यले अन्र्तराष्ट्रिय सन्धि अनुसार कानुन बनाउने र बनेका नितिहरुलाई पनि कार्यान्वयन गर्नका लागि संरचना बनाउने कुरा राज्यको तर्फबाट हुनुपर्छ ।
त्यसैगरी महिला हिंसा न्युनिकरण गर्ने सम्बन्धमा पुरुषको भूमिका कस्तो हुन्छ भन्ने सम्बन्धमा अर्का अधिवक्ता लोकनाथ पन्थ भन्छन् “पुरुषहरुले पनि महिलाप्रति सद्भाव राख्ने भावना सृजना हुनुपर्छ, महिला पनि यो देशका आधा आकाश ढाक्ने नारी हुन भन्ने कुरा भन्ने कुरामा पुरुषहरुको सकारात्मक सोच हुनुपर्छ, पुरुषहरुको दिमागमा महिला र पुरुषको एक हुन भन्ने भावना जागृत भएमा पुरुषले महिलालाई हेप्दैन भन्ने लाग्छ ।”
महिला हिंसाका घटना दिनप्रतिदिन बढीरहे पनि सरकारी निकाय मौन नै बसिरहेको छ । उसो तँ जीवन व्यतित गर्ने क्रममा आफुलाई परेको पिडा खुलस्त रुपमा सम्बन्धित निकायमा राख्न नसक्दा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढीरहेको देखिन्छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले महिला हिंसा सम्बन्धि बिभिन्न कार्यक्रम गरेपनि वास्तविक रुपमा महिला हिंसा भने घट्न सकेको छैन ।