
खेमानन्द पाठक/बुटवल, ६ कात्तिक । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा शनिबार बढेको दर्शकको भिडलाई राष्ट्रिय चर्चित कलाकार पशुपति शर्मा र शिव परियारले छमछमी नचाए । विदाको दिन परेकाले पनि दर्शकको संख्या बढेको हो । उनीहरु संगीतिक कार्यक्रममा झुमे ।
महोत्सव आयोजक संस्था नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलमा महासचिव तथा सचिवालय संयोजक सिताराम रसाईलीका अनुसार शनिबार ३१ हजार दर्शकले मेला अवलोकन गरेको जानकारी दिए । त्यस्तै डेढ करोडको आर्थिक कारोबार भएको पनि उनले बताए ।
सबैभन्दा बढी कारोबार अटो पेभेलियनमा भएको बताइएको छ । महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् ।

महोत्सवमा लोक तथा दोहोरी गायिका शिलु भट्टराई, प्रिया भण्डारी तथा हाँस्य कलाकार सुरज भिरखैरे लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै अर्घाखाँची सिमेन्ट डान्स आइडल तर्फ टप टेनको प्रस्तुती र फेशन शो कार्यक्रम पनि भएको सांगीतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।
आईतबार भने चर्चित लोक तथा दोहोरी गायीका राधिका हमाल, पुष्कल शर्मा, आधुनिक गायक कमल खत्री, हांस्य कलाकार जिग्री ब्रो लगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने गैरेले बताए । त्यस्तै शनिबार भएको गोधुली रोदी घर बुटवलका महिला र पाल्पाका पुरुष कलाकार बीच भएको लोकदोहोरी प्रतियोगितमा गुधुलीका कलाकार विजय भएका छन् ।
कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा ४ सय २२ स्टल सहभागी छन । महोत्सव अवधिभर औद्योगिक, कृषि, पर्यटन, प्रवद्र्धन लगायतका कार्यक्रम सहित उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय बस्तु उपलब्ध गराइने संगठनका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक खेम श्रीसले जानकारी दिएका छन् ।