
बुटवल, ६ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्तमान सरकार राजनीतिक धरातल विनाको इतिहांसकै कमजोर सरकार भएको टिप्पणि गर्नुभएको छ ।
शनिबार भैरहवामा आयोजित एमाले रुपन्देहीको आठौं जिल्ला अधिवेशन उद्घाटनमा बोल्दै नेता गौतमले राजनीतिक धरातल नभएकै कारण सरकारले जनताले राखेका कुनै अपेक्षा पुरा नगर्ने र मुलुकमा स्थायित्व पनि नहुने दावी गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्नकै लागि आफ्नो नैतिकता गुमाएको बताउंदै नेता गौतमले अहिले भारतको इशारामा संविधान संशोधन गर्ने घात गर्न लागेको आरोप लगाउनु भयो ।
कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले जनताको आशा र भरोसाको केन्द्र एमाले भएको दाबी गर्नुभयो । अर्का उपमहासचिव घनश्याम भुसालले अब एमालेले सबै चुनाबमा आफूलाई सफल सिद्ध गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले सरकारले संविधान संशोधन मार्फत राष्ट्रघाती कुरालाई समेत समेट्न लागेको जीकिर गर्दै यसलाई कुनै हालतमा रोक्नुपर्नेमा जोड दिनुभयो । उहांले एमाले नेतृत्वको सरकारले मात्रै आगामी १४ महिना भित्र तिनै तहको चुनाव गराउन र संविधान बचाउन सक्ने भन्दै यसका लागि अभियान थाल्ने बताउनुभयो ।
अधिवेसनको उद्घाटन सत्रमा एमालेका पोलिट ब्युरो सदस्य छविलाल विश्वकर्मा, लुम्बिनी अन्चल इन्चार्ज बैजनाथ चौधरी, केन्द्रिय सदस्य राधा ज्ञवाली, रुपन्देही इन्चार्ज लिला गिरी लगायतका नेताहरुले सम्बोधन गर्दै एमाले देशकै ठूलो र आमजनताको रोजाईको पार्टी बन्ने दावी गर्नुभयो ।
पार्टिका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठको अध्यक्षता, सचिव तुलसी प्रसाद चौधरीको सन्चालन एवं उपाध्यक्ष शिवराज सुवेदीको स्वागतमा भएको कार्यक्रममा जेष्ठ कम्युनिष्ट नेताहरु, भुकम्पीय स्वयंसेवकहरु तथा भवन निर्माण समितिलाई सम्मान गरिएको थियो ।
यसैगरी सोही अवसरमा उत्कृष्ट काम गर्ने मुक्ति समाज र प्रचार विभाग तथा ७ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ र ४ लाई पनि सम्मान गरिएको थियो । शनिबारको उद्घाटन सत्रलाई प्रशिक्षणमूलक कार्यक्रम जस्तो वनाईएको थियो । महेन्द्रसभा गृहको हलमा खचाखच भरिएका कार्यकर्ताहरुलाई पार्टी नेताहरुले निर्देशन दिदैं अधिवेसनले योग्य र कर्मठ नेतृत्व चयन गर्नेमा विश्वास व्यक्त गर्दै पार्टीको आगामी कार्यदिशा र राष्ट्रिय राजनितीको बारेमा प्रशिक्षित गरेका थिए ।
आईतबार र सोमबार एमाले रुपन्देहीको बन्द सत्र चल्नेछ । बन्दसत्रमा ८ सय ७७ जना प्रतिनिधीले भाग लिनेछन् । सोही अधिवेसनले एमाले रुपन्देहीको नयां नेतृत्व समेत चयन गर्नेछ ।