
बुटवल, ८ कात्तिक । अग्रेज फौजलाई हराएर नेपाली वीरताको शिर ठाडो बनाएको बुटवल जीतगढी क्षेत्रका स्थानीय युवाहरु संगठित भएका छन् ।
कर्णेल उजीरसिंहको वीरताको गौरवलाई संरक्षण गर्दै जीतगढी क्षेत्रको प्रचार प्रसार गर्ने तथा युवाहरुलाई रचनात्मक काममा लगाउने उदेश्य राखेर बुटवल उजीरसिंह सोसईटी क्लबको स्थापना गरिएको हो । क्लबको सोमबार औपचारीक समारोह गरि औपचारीक उद्घाटन गरिएको छ । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले युवाहरु संगठित भएर गौरवपूर्ण इतिहास बोकेको क्षेत्रको संरक्षणमा लाग्न सके उदाहरणीय काम हुने बताए । क्लबका अध्यक्ष मिन बहादुर विश्वकर्माले उजीरसिंहको नेतृत्वको फौजले अग्रेजलाई हराएको क्षेत्र बुटवलको जीतगढीको अस्तित्व बचाउँदै समाजिक काममा क्लबले काम गर्ने लक्ष्य राखेको बताए ।
उजिरसिंह पार्कमा गरिएको क्लब उद्घाटन तथा साँस्कृतिक कार्यक्रममा पूरानो बटौली संरक्षण समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौल, क्लबका उपाध्यक्ष समुन्द्र अमात्य लगायतले बोल्दै क्लबलाई सिर्जनशिल कामसँगै इतिहास संरक्षणमा जुटन आग्रह गरेका थिए । सो अवसरमा नृत्य तथा सडक नाटक प्रस्तुत गरिएको थियो ।