बुटवल, १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा साँसद शेखर कोईरालाले नेपाली काँग्रेसले कुनै पनि विषयमा हतार र लहडमा निर्णय नलिने बताउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले कसैको लहैलहैमा लागेर निर्णय नगर्ने बताउनु भएको हो । नेपाली काँग्रेस क्षेत्र नं. ४ रुपन्देहीले आज बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले लोकमान माथिको महाभियोग संविधान रोक्नकालागि गरिएको प्रपञ्च समेत हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।
सत्ता साझेदार दल नेपाली काँग्रेससंग कुनै सल्लाह नै नगरि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले एमालेसंग साँठगाँठ गरि केही महिना भित्रै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने माओवादी केन्द्रसंग भएको लिखित सहमति विपरित प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास समेत हुन सक्ने भन्दै यस विषयलाई काँग्रेसले गहिरोसंग अध्ययन गर्नुपर्ने बताउनु भयो ।
‘सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन नदिने या कतै संविधान रोक्न खोजिएको त होईन ?’ उहाँले भन्नुभयो–‘यसको जवाफ नेपाली काँग्रेसले खोज्नुपर्छ ।’ लोकमान असल मान्छे नभएपनि अर्को नराम्रो काम लुकाउनकालागि नेपाली काँग्रेस गोटि बन्न नहुने उहाँको भनाई थियो । ‘लोकमान राम्रो मान्छे हुँदै होईन, मैले नियुक्ति गर्ने वेलामा पनि भनेको थिएँ ।’ उहाँले भन्नुभयो–‘त्यतिवेला को ? को ? कहाँ ? कहाँ ? बाट सञ्चालित भयो ? र अहिले किन हटाउन खोजिँदै छ ? त्यसको अध्ययन हुन जरुरी छ ।’

उहाँले प्रधानन्यायधिश पनि गलत बाटोमा हिँडेको उल्लेख गर्दै भन्नुभयो–‘प्रधानन्यायधिशले ईन्टरभ्यु दिनै मिल्दैन । जपकी लोकमानको मुद्धा अदालतमा छ, त्यस्तो वेलामा ईन्टरभ्यु दिन मिल्छ की मिल्दैन ?’ उहाँले संविधान कार्यान्वयनकालागि मधेशी दलले माग गरेको सिमांङ्कन, भाषा, नागरिकता र जनसंख्याको आधारमा प्रतिनीधित्व ४ वटा विषय अत्यन्तै जटिल भएको उल्लेख गर्नुभयो । मधेश तराईमा बस्ने नागरिकको मातृ भाषा हिन्दी नभएकाले हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने उहाँको भनाई थियो ।
त्यस्तै राज्यको संवेदशनशिल पदमा अंगिकृत नागरिकलाई जान मिल्दैन । अन्य पदकालागि भने छलफल गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । त्यस्तै तराईका जिल्लामा जनसंख्याको आधारमा र पहाड तथा हिमालका जिल्लामा भुगोलको आधारमा प्रतिनीधित्व हुँनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी १४ महिना भित्रमा तीन तहको निर्वाचन गर्न नसकिए जारी भएको संविधान निश्कृय हुने भएकाले निर्वाचन गर्ने पर्ने र त्यसकालागि एमालेलाई संगै लिएर हिँड्नुपर्ने भनाई राख्नुभयो ।
उक्त कार्यक्रममा अर्का केन्द्रीय सदस्य तथा साँसद आनन्दप्रसाद ढुंगाना र साँसद तथा नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले सरकारले संविधान कार्यान्वयनको कुनै पनि काम नगरेको बताउँदै संविधान रक्षाकालागि एमाले र मधेशवादी दललाई विश्वासमा लिएर अवको १४ महिना भित्र तीन तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँहरुले नेपाली काँग्रेसको दुष्मन हिजो राजा भएजस्तै अहिले गरिवी र भ्रष्टाचार रहेकाले यसको अन्त्यकालागि अव पार्टीले त्यसका विरुद्ध लडाई गर्नुपर्ने बताउनु भएको थियो ।
क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली, नेपाली काँग्रस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, पार्टीका नवप्रवेशी राजु पौडेल, बुटवल ११ का वार्ड सभापति प्रदिप श्रेष्ठ, क्षेत्रीय उपसभापति परशुराम ढकाल लगायतले भनाई राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव जोगबहादुर खत्रीले गर्नुभएको थियो । सोही अवसरमा बुटवल जेसीजका अध्यक्ष सहित विभिन्न दलमा रहेर काम गरेका ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । त्यसरी प्रवेश गर्नेमा बुटवल जेसीजका अध्यक्ष राजु पौडेल, बैद्य माओवादी बुटवल ११ का वार्ड ईञ्चार्ज दिपक गौतम, बुटवल ५ निवासी शिक्षिका सीता गैरे, बुटवल ११ का गोविन्द पन्थी र चित्रबहादुर थापा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।