मधेसी मोर्चाका शीर्ष नेता भैरहवामा

मधेसी मोर्चाका शीर्ष नेता भैरहवामा

Madhesi-Morcha-Meetingरुपन्देही,असोज,२१ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सवै दलका शीर्ष नेता बिहीबार भैरहवामा आइपुगेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बिहीबार बिहानैदेखि भैरहवामा छन् । उनीसँगै पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र महामन्त्री सर्वेन्द्रनाथ शुक्ल पनि भैरहवामा छन् ।

राजेन्द्र महतो हिजैदेखि सीमावर्ती सुनौलीतर्फ छन् भने उपेन्द्र यादव र महेन्द्र राय यादव पनि आज साँझ विमानबाट भैरहवा आइपुगेका छन् ।

मोर्चाका शीर्ष सबै नेताको भैरहवा आउनुको मुख्य कारण जानकारीमा आउन सकेको छैन । ठाकुर सहित आज सिमानामा धर्नामा बस्न मोर्चाले स्थानीय प्रशासनसँग गरेको मागलाई स्थानीय प्रशासनले अस्वीकार गरेको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले शीर्ष नेताको सुरक्षाकै कारणले पनि अनुमति नदिइएको बताए ।

सुरक्षाकर्मीमाथि ढुंगा वर्षाउँदै आक्रमण गरेको भोलिपल्ट आज सुनौली नाका सुनसान छ । भारतबाट नेपाल आउनु पर्ने कुनैपनि मालबाहक गाडी बिहीबार नेपाल आएका छैनन् ।  अत्यावश्यक कामले आवतजावत गर्नुपर्ने बाध्यता भएका बाहेक अन्य सर्वसाधारण समेतको आवतजावत छैन । दसैंका लागि घर फर्केका नेपाली नागरिक भने आउने क्रम बढ्दो छ ।

सुनौली नाकाको दुवै देशतर्फ सीमा क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले बुधबार नाकामा घटेको घटनापछि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरु समक्ष गरिएको छलफल र सहमति अनुरुप भारतीय प्रशासनले हिजो साँझदेखि नै सुनौली क्षेत्रमा कुनैपनि प्रदर्शन र भेला गर्न नपाइने गरी धारा १ सय ४४ लगाएको बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •