गुल्मी, पाल्पा र अर्घाखांचीलाई ५ बाट अलग्याउन पाइदैन

1.3K

गुल्मी, पाल्पा र अर्घाखांचीलाई ५ बाट अलग्याउन पाइदैन

btl-congress

पाल्पा, गुल्मी र अर्घाखाँचीको मुटु बुटवल
बुटवल, १० कात्तिक । राज्यको पुनःसंरचनामा प्रदेश नं. ५ मा पर्ने पहाडी जिल्लालाई नछुट्याउन बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले आग्रह गरेका छन् । सरकारले अनेक बहानामा प्रदेश नं. ५ मा पर्ने पहाडी जिल्लाहरु प्रदेश नं. ५ बाट हटाएर अन्यत्र राख्न लागेको भन्दै त्यस्तो भए मान्य नहुने समेत बताए ।

नेपाली काँग्रेस क्षेत्र नं. ४ रुपन्देहीले नेता शेखर कोईरालासंग गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले प्रदेश नं. ५ मा पर्ने पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँचीको मुटु बुटवल भएकाले मुटु नझिकीदिने वातावरण बनाउन नेपाली काँग्रेसलाई आग्रह गरेका हुन् ।

नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा गुल्मी निवासी मोहन ज्ञवालीले प्रश्न गर्दै भन्नुभयो–‘पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको मुटु बुटवल हो, मुटु विना मान्छे बाँच्छ की बाँच्दैन ?’  पाल्पा, गुल्मी र अर्घाखाँचीका अधिकाँस व्यक्तिका बुटवल तथा आसपासमा घर घडेरी छ । यहि कारणले पनि यो प्रदेशमा परेका पहाडी जिल्लाको रुपन्देही जिल्लासंगको सम्बन्ध गाउँ बेसीको छ ।

कुनै पनि प्रदेशको समृद्धि त्यहाँका नागरिकको समृद्धिसंग जोडिएको हुन्छ । नागरिकको समृद्धि बिकासकालागि उक्त प्रदेशको समृद्धि अपरिहार्य छ । प्रदेश नं. ५ को समृद्धि पहाडी जिल्लासंग जोडिएको छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि रुपन्देहीमा भएका कारण यो प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । तर रुपन्देदी, नवलपरासी डाडा वारी, कपिलबस्तुमा ठूला नदि नाला छैनन् । जसका कारण पहाडी जिल्लालाई यहाँ नसमेट्ने हो भने पानी रुपन्देहीमा पानीको अभाव अनिवार्य सहनुपर्ने पाल्पाबाट बुटवल झर्नु भएका शिक्षक तिलकराम पौडेल बताउनु हुन्छ ।

यस क्षेत्रमा पानीको प्रयाप्त व्यबस्थापन गर्नकालागि कालिगण्डकी नदी डाईभर्सनको कुरा नभएको होईन । रुपन्देही, नवलपरासी र कपिलबस्तुमा पानी अभाव हटाउनकालागि कालिगण्डकी डाईभर्सन अनिवार्य छ । तराईका जिल्लाको समृद्धिसंग जोडिएको पहाडी जिल्लालाई हटाईयो भने नेपाली काँग्रेसलाई मान्य नहुने बताउँदै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले बिकासका पूर्वाधार समेत तयार भएको रुपन्देहीको बुटवललाई प्रदेश नं. ५ को राजधानी बनाउन आग्रह गर्नुभयो ।

राजनीतिक बिचार र आस्था जहाँ भएपनि अर्घाखाँची, पाल्पा र गुल्मीबाट निर्वाचित जनप्रतिनीधि तथा रुपन्देहीबाट निर्वाचित जनप्रतिनीधिहरुले पनि यी पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट छुट्ट्याउन नहुने धारणा राख्दै आएका छन् । पहाडी जिल्लालाई यो प्रदेशबाट छुट्ट्याउन नहुने कुरामा यहाँका राजनीतिक दलपनि एक मत छन् । तर सरकार र केन्द्रीय नेतृत्वले लादेका कुरा स्वीकार्ने परिपार्टीका कारण नेताहरु चुक्ने हुन् की भन्ने आम कार्यकर्ता पंक्तिमा आशंका कायम छ ।