बुटवल,असोज,२१ ।चाडवाडमा घर फर्कनेको भीडले भरिभराउ हुने बुटवलको बसपार्कमा अहिले तेल नभएका गाडि थन्किएर बसेका छन् भने तेल पाउने आशमा बुटवलका सडकमा लाम लागेर सार्वजनिक सवारीका साधन राखिएको छ ।
पेट्रोल पम्पले कुन बेला तेल वितरण गर्छ भन्दै सवारीका साधनहरुको लामै लाईन लाग्ने गरेको छ । ग्रामीण भेगमा जाने यात्रुको चाप हुने बेला बसपार्क सुनसान जस्तै बनेका छन् । यात्रुहरु समयमा गन्तव्यमा पुग्न नपाउदा अलपत्र छन् । दैनिक करिव १ हजार बस छुट्ने बुटवलबाट पछिल्ला दिनमा २ सयमा झरेको पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेल बताउनु हुन्छ ।
त्यसैगरि दैनिक २ हजार ट्रक आवत जावत गर्ने गरेका हाल १ सय पनि ट्रक नगुडेको ट्रक समितिका अध्यक्ष लोकराज पोखरेलले बताउनु भयो । एक÷दुई दिन यस्तै अवस्था रहे ग्रामीण भेगमा सबै यातायात सेवा बन्द हुने अवस्था रहेको छ । यस क्षेत्रबाट पहाडी जिल्लाहरुमा जाने सवारीका साधन निकै कम भएको र जनजिवन नराम्रोसँग प्रभावित बनेको छ । तेल अभावले जिल्ला भरको यातायात सेवा प्रभावित भएको बस व्यवसायी समितिका अध्यक्ष खरेलको भनाई छ । तेल नभएपछि गाडी थन्काएको हप्तादिन बढी भइसकेको र थन्केको सवारीका साधनलाई समितिले राहात दिनु पर्ने अवस्था आएको खरेलको भनाई छ । यता असहजको फाइदा उठाउदै कतिपय ठाउमा व्यवसायीले चर्को मूल्य लिएर यात्रु बोकेको गुनासो आएको छ ।