
बुटवल, २३ कात्तिक । नेपाली काँग्रेस रुपन्देहीले हालै गरेको जिल्ला कार्यसमितिमा सदस्य मनोनयन प्रति असन्तुष्टि व्यक्त भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्लाका नेताहरुले आज बुटवलमा पत्रकार सम्मेलन गरी उक्त मनोनयन सहमति र सहकार्य विपरित भएको र त्यसले पार्टीलाई नै कमजोर बनाउने बताएका हुन् ।
नेपाली काँग्रेस रुपन्देहीले हालै सात निर्वाचन क्षेत्रबाट दुई जनाका दरले १४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले सभापति अब्दुल रज्जाकले व्यक्तिगत रुपमा मनोमानी ढंगले जिल्ला सदस्य मनोनयन गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गर्नुभयो ।
उहाँले सिंगो पार्टीलाई गुटगत रुपमा अगाडी बढाउन खोजिएको भन्दै उक्त मनोनयन प्रति रोष प्रकट गर्नुभयो । पार्टी अधिवेशनमा गुटगत रुपमा विभाजित भएपनि अधिवेशन पछि जसले जितेपनि गुटभन्दा माथि उठेर काम गर्नुपर्नेमा उही गुटमै सिमित रहेको बताउँदै उहाँले यस्ता गतिबिधिले पार्टीलाई झन् कमजोर बनाउँदै लगको उहाँले उल्लेख गर्नुभयो । ‘जो मनोनयन भएपनि काँग्रेस नै हो, त्यसमा कुनै चित्त दुखाई होईन ।’ पूर्व सभापति ढकालले भन्नुभयो–‘कमसेकम दुई पक्ष नै बसेर सहमति गरेर गरेको भए राम्रो हुने थियो, आफूसंग सहमति नहुने शक्तिलाई पेलेरै अगाडी बढ्ने प्रबृत्ति राम्रो होईन ।’
केन्द्रमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलको सहमतिमा पार्टीका गतिबिधि अगाडी बढाएपनि जिल्ला एकलौटी रुपमा आफू ईतरलाई पेलेर अगाडी बढेकाले समानान्तर समिति सञ्चालन गर्ने आवश्यकता सम्म पुगिएको पूर्व सभापति ढकालले बताउनु भयो । जिल्लामा तरुण दलमा एकलौटी भएकाले समानान्तर समिति बनाईएको र महिला तथा बिद्यार्थीको अवस्था उस्तै भएकाले यसले पार्टीलाई एकदम कमजोर बनाएको उहाँले बताउनु भयो । क्षेत्रबाट मनोनित गर्दा समावेसी ढंगले मनोनित गर्नुपर्नेमा त्यस्तो नभएको बताउँदै महिला त झन् पर्दै नपरेकाले यसलाई सच्याउन उहाँले आग्रह गर्नुभएको हो ।
सभापति रज्जाकले क्षेत्रबाट जिल्ला सदस्यमा मनोनित गर्दा क्षेत्रलाई समेत जानकारी नगराएको नेता अष्टभुजा पाठकले बताउनु भयो । अरुलाई नमानेपनि निर्वाचित पदाधिकारीलाई मान्नुपर्ने उहाँको भनाई छ । क्षेत्रबाट जिल्ला सदस्य मनोनित गर्दा क्षेत्रीय समितिको सहसल्लाहमा गर्दा पार्टी पनि बलियो हुने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले यहाँ बहुमत र अल्पमतको आधारमा भन्दा पनि पार्टी भित्रका मान्छेलाई समेटेर अँगाडी बढ्ने हो भने पार्टीलाई बलियो पनि बनाउन सकिने र अव हुने स्थानीय निकायको निर्वाचनमा पनि एकता प्रदर्शन हुन सक्ने बताउँदै यहि अवस्थामा स्थानीय निकायको निर्वाचन भयो भने यसले पार्टीलाई ठूलो घाटा हुने बताउनु भयो ।