ईलाका प्रशासन बुटवलबाट प्रिन्टेड नागरिकता वितरण सुरु

1.3K

ईलाका प्रशासन बुटवलबाट प्रिन्टेड नागरिकता वितरण सुरु

nagrita
बुटवल, २४ कात्तिक । ईलाका प्रशासन कार्यालय बुटवलले कम्प्युटराईज प्रणालीबाट नागरिकता वितरण सुरु गरेको छ ।
हालसम्म हस्तलिखित नागरिकता वितरण गर्दै आएको उक्त कार्यालयले आज देखि कम्प्युटर प्रिन्टेड नागरिकता वितरण गर्न सुरु गरिएको ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपसचिव कृष्णप्रसाद भण्डारीले बताउनु भयो ।

प्रिन्टेड नागरिकता वितरणको प्रवन्ध मिलाएको पहिलोदिन तिलोत्तमा नगरपालिका वडा नं. २ निवासी कृष्ण खत्रीलाई पहिलो प्रिन्टेड नागरिकता प्रदान गरिएको छ । ईलाका प्रशासन कार्यालय बुटवलबाट दैनिक ५० जनाले नागरिकता लिने गरेको कार्यालयका कर्मचारीहरु बताउँछन् ।
नागरिकलाई चस्तदुरुस्त, छिटोछरितो सेवा प्रवाह गर्नकालागि आफू सहित कार्यालयका कर्मचारीहरु प्रयत्नशिल रहेको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो । तर कार्यालयमा जनशक्ति अभावका कारण भनेजस्तो सेवा प्रवाह गर्न नसकिएको उहाँ बताउनु हुन्छ ।

जिर्ण कार्यालयका कारण राखिएका अभिलेखहरु सुरक्षित छैनन् । भएका अभिलेखहरु पनि खोज्न मिल्ने खालका छैनन् । अभिलेखलाई सुरक्षित राख्नकालागि कम्प्युटर प्रणालीको बिकास गर्न खोजेपनि जनशक्ति अभावका कारण समस्या भएको कार्यालय प्रमुख भण्डारी बताउनु हुन्छ ।
आफूले कार्यालयको जिम्मेवारी सम्हालेदेखि कार्यालयको काम कारवाहीलाई चुस्त बनाउन लागि परेको बताउँदै त्यसकालागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । ‘मेरो व्यक्तिगत घर बनाउनको लागि बरु यत्तिका मेहनत गर्नु पर्ने थिएन ।’ उहाँले भन्नुयो–‘आफू रहँदासम्म राम्रो काम गरौं भन्यो, जता पनि अवरोध मात्रै सिर्जना भयो ।’

२०५० बैशाख देखि सेवा सुरु भएको बुटवलको ईलाका प्रशासन कार्यालय व्यबस्थित किसिमको कार्यालय नहुँदा पुराना अभिलेखहरु काम नै नलाग्ने गरी बिग्रिएका छन् । त्यसको सुधारको लागि नयाँ भवन आवश्यक भएको र नयाँ भवन निर्माणका काम अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो ।

उहाँकै विशेष पहलमा ईलाका प्रशासन कार्यालय भवन निर्माणकालागि यातायात व्यबस्था कार्यालय नजिकै करिव साढे ६ कट्टा जग्गा प्राप्त भएको छ । उक्त जग्गामा अत्याधुनिक कार्यालय भवन सहित कर्मचारी आवास भवन निर्माण हुने उहाँले बताउनु भयो ।

ईलाका प्रशासन कार्यालयमा उपसचिव भण्डारी आएपछि नागरिक वडापत्र अपडेट गर्नेदेखि कार्यालय परिषरमा सुर्तिजन्य पदार्थ निषेधित गर्ने काम कडाईका साथ लागु भएको छ । सरकारी कार्यालय परिषरको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण तथा सेवन गर्न कानुनले प्रतिवन्ध लगाएको छ । कानुनको अटेरी गरी विक्री वितरण गर्ने र सेवन गर्ने समेत कारवाहीको भागिदार बन्नुपर्यो । त्यसले अहिले धेरै सुधार भएको उहाँ बताउनु हुन्छ ।

यी सहित अझै पनि सुधार गर्नुपर्ने काम धेरै भएको र ती बिस्तारै गर्दै जाने उहाँ बताउनु हुन्छ । ईलाका प्रशासन कार्यालयबाट बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिकाको वडा नं. १ देखि ५ (साविकको शंकरनगर गाबिस, सैनामैना नगरपालिका, देवदह नगरपालिका क्षेत्रका जनताले सेवा लिन्छन् ।