श्रम व्यवस्थापनलाई बिशेष ख्याल राख्नुपर्ने

222

श्रम व्यवस्थापनलाई बिशेष ख्याल राख्नुपर्ने

बुटवल, २५ कात्तिक । यस क्षेत्रमा बढदो औद्योगिकरणमा कमि आउन नदिन श्रम व्यवस्थापनलाई बिशेष ख्याल राख्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । रुपन्देही र आसपासमा बढदो औद्योगिकरणमा कमी आउन नदिन श्रमिकलाई दक्ष बनाउने देखि सरकारले निर्धारण गरेको सेवा सुबिधा पनि दिनुपर्ने उनीहरुले बताएका छन ।

बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघमा रहेको अन्र्तराष्ट्रिय श्रम संगठन सम्वन्धि परियोजनाको आयोजनामा आज संघ सचिवालयमा भएको अन्र्तक्रियाका सहभागिहरुले उद्योगको उत्पादन बढाउन र नाफा आर्जन गर्नमा श्रमिकहरुको महत्वपुर्ण भुमिका रहने भएकाले उनीहरुको सुरक्षामा बिशेष ख्याल गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष महेशमान सिंहले उद्योगी र श्रमिकबीचको राम्रो सम्वन्ध र यस क्षेत्रमा उद्योगप्रति आम नागरीकको सकारात्मक सोच भएकाले लगानीकर्ताको आर्कषण बढेको उल्लेख गर्दै त्यसमा कमी आउन नदिने बताउनु भयो । श्रम कार्यालय बुटवलका प्रमुख हरि शंकर चौलागाइले बजारमा भएका श्रमिक र उद्योगलाई आवश्यक श्रमिकबीच तालमेल नमिलीरहेकाले अदक्ष श्रमिकलाई दक्ष बनाउन बिशेष खालका सीपमुलक तालिम आवश्यक रहेको बताउनु भयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कुल प्रसाद न्यौपानेले नेपालका उद्योगमा भारतीय श्रमिक आउने र नेपालका श्रमिक बिभिन्न खाडी देश जानुपर्ने बिडम्वनाको अन्त्यका लागि उद्योगलाई आवश्यक जनशक्तिका लागि सरकार र सम्वन्धित क्षेत्रले पहल गर्नुपर्ने बताउनुभयो । महासंघका निर्देशक हंसराज पाण्डेले उद्योगको आवश्यकता र हरेक दिन बजारमा आउने युवाबीचको सन्तुलन मिलाउन परियोजनाले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका उद्योग उपााध्यक्ष अनिल श्रेष्ठ, बाणिज्य उपााध्यक्ष उज्जवल कसजु, महासचिव हरि अर्याल, सदस्य नरिश्वर पौडेल, युवा उद्यमी मञ्चका अध्यक्ष आनन्द वझा, परियोजनाका परामर्शदाता डा. केशव वस्याल राजिद सैजु, उद्योगी सन्तराम चौधरी, यादव घिमिरे, आनन्द खनाल लगायतले बोल्नु भएको थियो ।