
बुटवल, २७ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा चुनाव नभए जारी संविधान धरापमा पर्ने बताउनुभएको छ ।
संवैधानिक रिक्तता हुन नदिन र संविधान कार्यान्वयनकालागि दलहरु एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।
पूर्ववर्ती सरकारले स्थानीय तहको निर्वाचन मंसिरमा तोकेको र वर्तमान सरकारले निर्वाचन स्थगित पनि नगरेको तथा नयाँ निर्वाचनको मिति पनि नतोकेकाले संविधान कार्यान्वयन अन्यौलमा परेको उहाँले बताउनु भयो । मधेशी दलहरुले उठाएका मागका सवालमा सहमति नभई संविधान संशोधन हुन नसक्ने र सरकारले सहमति पनि गर्न नसक्दा संविधान कार्यान्वयनमा आशंका देखिएको उहाँले बताउनु भयो ।
सरकारका काम कारवाहीले नयाँ संविधानले देशमा स्थिरता दिन सक्दैनकी भन्ने अन्यौल सिर्जना भएकाले सरकार गम्भिर भएर संविधान कार्यान्वयनको दिशामा अंगाडी बढ्न उहाँले सुझाव दिनुभयो । सल्यान र अर्घाखाँचीमा भएको पार्टीको हिन्दु जागरण सभामा सहभागि भएर काठमाण्डौ फर्किने क्रममा रिपोटर्स क्लव नेपाल लुम्बिनीले आज बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सत्ता केन्द्रित प्रतिस्पर्धाले दलहरु बिचमा तिक्तता सिर्जना भएको र संविधान कार्यान्वयनको काममा जटिलता सिर्जना भएको उल्लेख गर्नुभयो ।
हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिएको राप्रपा नेपाल आफ्नो अडानमा यथावत रहेको बताउँदै उहाँले आफ्ना मुलभूत कुराहरु संविधानमा नसमेटिएपनि बिचार स्वतन्त्रताको अधिकार, संविधान संशोधनको सहज व्यबस्था लगायतका कुराहरु भएकाले राजसंस्था र हिन्दुराष्ट्र पुन फर्किन सक्ने उल्लेख गर्नुभयो । बिस्तारै नेपाली काँग्रेस र एमालेका नेताहरु पनि हिन्दुराष्ट्रका पक्षमा उभिन थालेकाले आफ्नो एजेण्डा बलियो बन्दै गएको बताउनु भयो ।