
बुटवल, २८ कात्तिक । सैनामैना–१, बनकट्टा निवासी चुरी अर्यालको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् ।
हत्या भएको झण्डै एक वर्ष पछि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । अर्यालको २०७२ माघ २९ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
माघ २८ गते एक करोड १७ लाखमा पास गरेको रकम घरमै रहेको आशंकामा लुटपाटको क्रममा हत्या भएकोे प्रहरीले आज इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
उनीहरुले अर्यालको घरबाट ३० हजार नगद, फुली, तिलहरी, सिक्री, बाला लगायतका धनमाल चोरी आपसमा बाडेको अनुसन्धानको क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख एसपी बुद्धिराज गुरुङले जानकारी दिनुभयो ।
हत्याको अभियोगमा सैनामैना–१२, रुपन्देही निवासी २५ वर्षिय सन्तोष थापा मगर, सैनामैना–१ निवासी ३० वर्षिय उमादेवी वि.क. र कल्पना खनाल पक्राउ परेका छन् । थापा मगर यस अघि नै विर बहादुर गुरुङको हत्या अभियोगमा पक्राउ परिसकेका थिए । वि.क. र खनाल भने यही कात्तिक २६ गते शुक्रवार पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरु अन्य घटनामा समेत संलग्न रहेको आशंका प्रहरीले गरेको छ । अर्यालले प्रयोग गरेको मोबाइल थापा मगरबाट र सिमकार्ड वि.क.बाट बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
सामुहिक करणी गर्ने पक्राउ

मोटरसाइलमा लिफ्ट दिएर तिलोत्तमा–१९, अमुवा खोलाको पुल नजिक झाडीमा करणी गरेको अभियोगमा अमुवा–५ का २० वर्षिय शिव कुमार मल्लाह पक्राउ परेका छन् ।
मल्लाहले युवतीलाई करणी पश्चात अन्य तीन जना साथीलाई बोलाई सामुहिक करणी गरेको पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी मरासिनीले जानकारी दिनुभयो । महिलाको कमजोरीको फाइदा उठाउदै करणी लगायतका अपराधीक घटना हुने हुदा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।