एमाओवादीसँग एमालेको आग्रह

356

एमाओवादीसँग  एमालेको आग्रह

kp-oli2काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि एकीकृत नेकपा (माओवादी) नेतृत्वलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेतृत्वले  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगी ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक आग्रह गरेको हो ।

जवाफमा अध्यक्ष दाहालले सहमतिबाटै अगाडि बढ्नुपर्नेमा जोड दिँदै सो विषयमा आफ्नो पार्टीको शुक्रबार बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताउनुभएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सहमतिको सरकारका लागि आह्वान गरिएको समय सकियो

राष्ट्रपति डा रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि यही असोज १५ गते सात दिनको समयसहित गर्नुभएको आह्वानको अन्तिम दिनसम्म पनि सहमतिको सरकार गठन हुन सकेन ।

तराई मधेसमा आन्दोलनरत दलहरुसँगको वार्ता निष्कर्षमा नपुगेको, कतिपय प्रमुख दलले संस्थागत निर्णय नगरेका कारण संसद्मा रहेका दलहरुबीच सो विषयमा सहमति जुट्न नसकेको हो ।

व्यवस्थापिका–संसद्को शुक्रबार बस्ने बैठकले प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु गर्नेछ । त्यसअघि राष्ट्रपति डा यादवबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत असोज १५ गते आग्रह गर्नुभएको थियो