चौराहा–गोलपार्क सडक क्षेत्राधिकार, २३ घर मात्रै मापदण्ड अनुसार

1.3K

चौराहा–गोलपार्क सडक क्षेत्राधिकार, २३ घर मात्रै मापदण्ड अनुसार

butwalकबिन्द्र नेपाल

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकको जग्गा मिचेर निर्माण गरिएको करिव साढे ३ सय घर फाल्ने तयारी सडक डिभिजन कार्यालय बुटवलले गरेको छ ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकको क्षेत्राधिकारमा पर्ने करिव ४ सय घर मध्ये करिव ३४० भन्दा बढी घर सडकको क्षेत्राधिकार मिचेर निर्माण गरेको पाईएको प्रारम्भिक अध्ययनबाट भेटिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख ईञ्जिनियर मेघराज मरासिनीले जानकारी दिनुभयो ।
अहिले सडक डिभिजन कार्यालयले राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकको क्षेत्राधिकार ८२ फूट भित्र पर्ने भौतिक संरचनामा चिन्ह लगाउँदै छ । करिव एक हप्ता अंगाडीदेखि शुरु गरेको चिनो लगाउने काम बुटवल बहुमुखि क्याम्पससम्म पुगेको र बाँकी काम दशैं पछि गरिने सव ईञ्जिनियर गोबिन्द श्रेष्ठले बताउनु भयो ।
राजमार्ग चौराहादेखि गोलपार्क बुटवल बहुमुखी क्याम्पस सम्म सडकका दुवैतर्फ ३६३ घरमध्ये ३४० वटा सडकको क्षेत्राधिकार मिचेर बनेको पाईएको सुब्बा राजेन्द्र पराजुलीले बताउनु भयो । जसमध्ये २३ वटा मात्रै सडकको मापदण्ड अनुसार बनेका छन । मापदण्ड मिचेर निर्माण भएका ३४० मध्ये १०÷१५ वटा अस्थायी प्रकृतिका रहेका पनि उहाँले जानकारी दिनुभयो ।
मरासिनीका अनुसार कार्यालयले नापजाँच गरेर चिनो लगाईदिएपछि घर धनीलाई पनि आफैले भत्काउन सहज हुनेछ । अहिले डिभिजन सडक कार्यालयको टोलीले नापजाँच गरेर लगाएको चिनो अनुसार अधिकांश घरहरुमा साढे ६÷७ फूटसम्म हटाउनु पर्ने देखिन्छ ।
कार्यालयले नापजाँच गरेर चिनो लगाएपछि सडक क्षेत्राधिकारमा पर्ने घरधनीहरुलाई तिहारसम्मको समय दिएर भत्काउन लगाउने कार्यालयले जनाएको छ ।
अब बन्ने मुख्य राजमार्गहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १ सय ५ फुटका बन्नेछन् । कार्यालयले गरेको आग्रह र अनुरोधलाई कसैले वेलास्ता गर्न नहुने भन्दै कार्यालय प्रमुख मरासिनीले कार्यालयको आग्रह, अनुरोधको वेवास्ता गरे डोजर चलाएर भएपनि हटाउने तयारी गरेको बताउनु भयो ।
डिभिजन सडक कार्यालयले यसका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सडक संरचनाभित्र परेका घरहरु सडकले हटाउने भएपछि यस क्षेत्रका कतिपय अस्पताल, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र व्यवसायिक पसलहरु हटाउनुपर्ने भएपछि कतिपय घरधनी तथा व्यबसायीहरु आतंकित भएका छन ।
यता डिभिजन सडक कार्यालयले सडकको क्षेत्राधिकार मिचेर निर्माण गरिएका भौतिक संरचनामा नापजाँच गरि चिनो लगाउन थालेपछि घरधनी तथा ती सडकका सटरमा व्यबसाय गर्ने व्यबसायीहरु भने आतंकित भएको बताएका छन ।
उनीहरुले राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकलाई शहरीकरण सडकको रुपमा बिकास गर्न आग्रह गर्दै राजमार्गलाई वैकल्पिक व्यबस्था गर्न माग गरे ।
सडकको वारीपारी घर पर्ने तथा ती घरका सटरमा व्यबसाय गर्नेहरुको बिहिबार बुटवलमा भएको भेलाले यस्तो माग गरेको हो । त्यसकालागि पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधि खरेलको अध्यक्षतामा १३ सदस्यीय संघष समिति निर्माण गरिएको छ । समितिमा डा. प्रायश्चित श्रेष्ठ, किशोर बिक, हरि पोखरेल, रामेश्वर श्रेष्ठ लगायत रहेको बताइएको छ ।