आक्रमणको भ्रत्सना

1.3K

आक्रमणको भ्रत्सना

logoबुटवल । बुधबार नेपाल भारत सिमा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताले रुपन्देही तिलोत्तमा नगरपालिका १० भलवारीका कृष्णबहादुर क्षेत्रीमाथी गरेको सांघातिक आक्रमणको क्षेत्री समाज नेपाल तिलोत्तमा नगर समितिले भ्रत्सना गरेको छ ।
समाजले बिहिबार बिज्ञप्ती जारी गरी मजदुरी गरी खाने सामान्य नागरिकलाई वर्णको आधारमा आक्रमण हुनु दुःखद र अमानविय काम भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कारवाही गर्न पनि प्रहरी प्रशासनसंग माग गरिएको छ ।
समाजका अध्यक्ष स्वयम्बन्धु कार्की र सचिव गोपाल थापा क्षेत्रीद्वारा जारी गरिएको बिज्ञप्तीमा नेपाली नागरिक भएको पहिचानकै आधारमा अमानविय तरिकाले आक्रमण भएको र सो आक्रमणले समाजलाई दुःखि बनाएको उल्लेख गरिएको छ ।
सुनौली –काठमाण्डौ यात्रुवाहक बसका सहचालक समेत रहेका क्षेत्री बुधबार भारत सुनौली बजार गर्न गएको मौकाछोपी मधेशी मोर्चाका कार्यकर्ताले आक्रमण गरि अमानवीय रुपमा धारिलो हतियारले प्रहार गरेर हातका औंला समेत काटेर मरणसन्न बनाएका थिए । समाजले घटनामा संलग्नलाई पहिचान गरि कानुनी दायरामा ल्याउन र क्षेत्रीको उपचारमा लाग्ने खर्च सहित क्षेतीपूर्ति उपलव्ध गराउन समेत माग गरेको छ ।
त्यस्तै यातायात मजदुरहरुले पनि क्षेत्रीमाथि भएको सांघातिक आक्रमणको ध्यानाकर्षण भएको बताउँदै आक्रमणको निन्दा गरेका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी अञ्चल सचिव कृष्णप्रसाद कंडेल, नेपाल यातायात मजदुर संघ रुपन्देहीका सहसचिव भिष्म केसी र अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष डम्बरबहादुर बिसीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफ्ना मागहरु शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकार संविधानमा व्यबस्था हुँदा हुँदै शान्तिपूर्ण रुपमा हिंडडुल गर्नपाउने नागरिकको अधिकार कुण्ठित भएको भन्दै आपत्ती जनाईएको छ ।
बुधबार क्षेत्रीमाथि साम्प्रदायिक सद्भाव बिथोल्ने गरि भएको आक्रमण निन्दनीय रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।