
बुटवल, ४ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राममा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गर्न लागिएको स्वर्ण महोत्सव महायज्ञ २०७३ को तयारी तिव्र रुपमा अँगाडी बढाईएको छ ।
नियमित रुपमा प्रत्येक वर्ष सञ्चालन गर्दै आएको महायज्ञ ५० वर्ष पुरा भएको अवसरमा यो वर्ष माघको १९ देखि २९ गतेसम्म सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ गर्न लागिएको हो । सोही महायज्ञको अवसरमा माघकै २७ र २८ गते बृहत सन्त सम्मेलन समेत गर्ने तयारी गरिएको छ । उक्त सम्मेलनमा नेपाल सहित छिमेकी मुलुकका विद्वान सन्तहरु सहभागि हुने र धार्मिक मार्ग दर्शन निर्माण हुने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नारायण बञ्जाडेले बताउनु भयो ।
उक्त महायज्ञमा ब्रह्मानिष्ट एक हजार आठ श्री ज्ञानानन्द सरस्वती जी महाराजले नित्य प्रवचन गर्नुहुने छ । त्यस्तै दैनिक १२१ ब्राह्मणहरुद्वारा नित्य पाठ पारायण तथा होम गरिने उहाँले बताउनु भयो । उक्त महायज्ञलाई भव्यताका साथ सम्पन्न गर्न आज बसेको तयारी बैठकले उपाध्यक्ष प्रेमनारायण देवकोटाको संयोजकत्वमा ब्राह्मण व्यबस्थापन समिति, उपाध्यक्ष धर्मादेवी न्यौपानेको संयोजकत्वमा मातृशक्ति परिचालन समिति, मनिष अधिकारीको संयोजकत्वमा आर्थिक व्यबस्थापन समिति, टिकाराम पाण्डेको संयोजकत्वमा सचिवालय व्यबस्थापन समिति गठन गरिएको छ ।
त्यस्तैगरी सन्त विद्वान राष्ट्रिय सम्मेलन तथा अनुगमन मुल्याङ्कन, निर्देशक समितिमा रोमणीप्रसाद पाठक र गोपाल भट्टराईलाई चयन गरिएको छ । प्रचार प्रसार समितिको संयोजकमा मोहन भण्डारी, २१ करोड लक्ष्यवत्ती व्यबस्थापन समितिमा भगवती भट्टराई, कलश ¥यालीकालागि गायत्री पाण्डे, धान्याञ्चल व्यबस्थापन समितिमा बाबुराम पन्त, भान्सा व्यबस्थापन समितिमा कोषप्रसाद भट्टराई तथा मुरारीप्रसाद पराजुलीको संयोजकत्वमा स्मारिका प्रशासन सहित ३० वटा बिभिन्न उपसमिति निर्माण गरिएको महासचिव भरत भुसालले बताउनु भयो ।
यस्तो महायज्ञ अहिलेसम्म कहीँ नभएको र यस्तो ऐतिहासिक महायज्ञमा सहभागि हुन तथा सहयोग गर्नकालागि अध्यक्ष वञ्जाडेले आह्वान गर्नुभएको छ ।