संविधान कार्यान्वयनकालागि तीन तहको निर्वाचन चुनौतिपूर्ण : महामन्त्री कोइराला

1.3K

संविधान कार्यान्वयनकालागि तीन तहको निर्वाचन चुनौतिपूर्ण : महामन्त्री कोइराला

m-s

बुटवल, ५ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले संविधान कार्यान्वयनकालागि तीन तहको निर्वाचन निकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

२०१० सालमा नेपाली काँग्रेसका संस्थापक बिपी कोईरालाले उठाएको संविधान सभा मार्फत संविधान ल्याउने युगीन अभिभार करिव ६५ वर्षपछि प्राप्त भएकाले संविधानलाई संस्थागत गर्ने दायित्व पनि नेपाली काँग्रेसकै भएको बताउनु भयो । ‘संविधान लेख्नकालागि स्पष्टता र दृढता आवश्यक हुन्छ, त्यो सुशिल कोईरालाले पुरा गर्नुभयो ।’ उहाँले भन्नुभयो–‘अव जारी भएको संविधान कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसकै हो, यसबाट पार्टी चुक्नेछैन ।’

नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनको २६ औं स्थापना दिवसमा बुटवल शाखाले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोईरालाले ९० प्रतिशतले हस्ताक्षर गरेको संविधान अति नै राम्रो भएको र यसलाई अझैपनि केही परिवर्तन गर्दा सबैलाई संविधानको परिधीमा ल्याउन सकिन्छ भने संविधान संशोधनलाई नकारात्मक रुपमा लिन नहुने बताउनु भयो । ‘संविधान अति नै राम्रो छ, हुवहु लागु गर्नुपर्छ भन्ने कुराहरु पनि आएका छन् ।’ उहाँले भन्नुभयो–‘तर केही कुराहरु परिवर्तन गर्दा सबैलाई यसको परिधीमा ल्याउन सकिन्छ की ! यस तर्फ पनि सोंच्नु पर्दछ ।’

संविधान कार्यान्वयनकालागि तीन तहको निर्वाचन अपरिहार्य रहेको र यो संविधानलाई टेकेर संघारमा रहेका तीन वटा निर्वाचन कसरी गराउने भन्ने हो–उहाँले भन्नुभयो । उहाँले पार्टीलाई एक गराउनकालागि आफूले सोही अनुसारको भूमिका निर्वाह गरिरहेको बताउँदै अफू यो राष्ट्र तथा यहाँका जनताकोलागि प्रयोग हुन तयार रहेको र आवश्यकता अनुसार प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनका केन्द्रीय अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेलले संस्थाले नेपाली काँग्रेसलाई हैसियत अनुसार सहयोग गर्न तयार रहेको र पार्टीले पनि व्यक्ति वरिपरीकालाई भन्दा पनि संस्थागत सम्वन्ध राख्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसले प्राप्त गर्ने मन्त्रालयहरुमा डिएलएको सिफारिसमा कानुनी सल्लाहकार राख्ने व्यबस्था मिलाउन महामन्त्री कोईरालालाई आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु पूर्व महान्यायधिवक्ता बाबुराम कुवँर, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता यदुनाथ खनाल, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली लगायतले न्याय सम्पादनका हरेक गतिबिधी फिक्सिङ्का रुपमा अँगाडी बढिरहेको बताउँदै सिंगो न्यायपालिका प्रति विश्वसनीयता गुम्दै गएको बताउनु भएको थियो ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशन बुटवलका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता तथा सचिव शरद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा न्याय र कानुनका क्षेत्रमा कलम चलाएको भन्दै गोरखा पत्रका सहसम्पादक कुमार विवेकानन्द मिश्रलाई नगद १० हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
पाँच बुँदे घोषणा पत्र जारी
डेमोक्रयाटिक लयर्स एशोसियसनको २६ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमबाट पाँच बुँदे घोषणा पत्र जारी गरिएको छ ।

प्रजातन्त्रमा विधीको शासन, स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत मान्यताहरुलाई संस्थागत गर्दै इकाई तहसम्म पु¥याउने, संविधान संशोधन लगायतका विभिन्न कानुनी विषयहरुमा बिचार सिर्जना गर्दै नेपाल डेमोक्रयाटिक लयर्स एशोसियशनलाई नेपाली काँग्रेसको थिंक ट्याङ्को रुपमा बिकास गर्ने, डिएलएलाई अझै संस्थागत गर्ने तथा देशभर जीवन्त बनाउने, डिएलए सम्वद्ध देशभरका कानुन व्यबसायीको हक हितमा ससक्त रुपमा प्रस्तुत हुँदै सेवा सुविधालाई न्यायोचित रुपमा वितरण गर्ने निर्णय सहित घोषणा पत्र जारी गरिएको महासचिव मेघराज पोखरेलले जानकारी दिनुभयो ।