लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शन गरिने

1.3K

लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शन गरिने

thankaप्रविण गाहा/
बुटवल, ७ मंसिर । नेपाल–जापान कुटनीतिक सम्बन्धको ६० वर्ष पुरा गरेको अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठुलो थान्का प्रदर्शनी हुने भएको छ ।

यही मंसिर १० र ११ गते दुई दिन विश्वकै ठुलो ५० मिटर चौडाई र ७० मिटर लम्बाई भएको थान्का प्रदर्शन गरिने भएको हो । नेपाल बौद्ध महासंघ रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गरी भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा थान्का प्रदर्शन गर्न लागिएको वारेमा जानकारी गराएको हो ।

थान्का प्रदर्शन गर्नु अघि मंसिर १० गते शुक्रबार लुम्बिनीको पर्साचौराहाबाट ¥याली निकालिने छ । थान्का लुम्बिनीको हेलिप्याडमा प्रदर्शन गरिने छ । यो समय लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको घुंइचो लाग्ने भएकोले करिव ५० हजार देखि एक लाख सम्मले अवलोकन गर्ने आयोजकले जानकारी गराएका छन् । थान्का अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले बताएका छन् ।
के हो थान्का
थान्का तिब्बती भाषा हो । यसलाई तिब्बती भाषामा अभिलेख राख्ने भन्ने बुझिन्छ । विश्वकै ठुलो थान्कामा भगवान बुद्धको जन्म देखि समबोधीलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाण सम्मका घटना उल्लेख छ ।

थान्काको टिकाउ अवधी चार सय पचास वर्ष रहेको प्रदर्शनी मुल व्यवस्थापन समितिका संयोजक इन्द्र बहादुर गुरुङ्गले जानकारी गराउनुभयो । एक हजार नौ सय पांच किलो तौल रहेको ८१ वटा टुक्रा रहेको थान्का बनाउनको लागि आठ वर्ष लागेको थियो । प्रदर्शन अघि ८१ वटामा रहेका थान्कालाई चेन मार्फत एउटा सिंगो थान्का बनाउने गरिन्छ ।

जस मध्य तीन वटा टुक्रा नेपालमा तयार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सुर्य बहादुर थकाली र एन.पि.ओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीको पहलमा थान्का बनाउनको लागि १६ देशका १० हजार स्वयंसेवक परिचालन गरिएको थियो ।

विश्वका विभिन्न देशमा प्रदर्शनी गरिएपछि जापानमै राख्ने गरिएको थान्का बुद्ध जन्मस्थल लुम्बिनीमा राख्न पहल भएको व्यवस्थापन समितिका संयोजक गुरुङ्गले जानकारी गराउनुभयो । लुम्बिनीमा थान्का कसरी राख्ने भन्ने विषयमा छलफल भैरहेको व्यवस्थापन समितिका सदस्य कमल थापाले जानकारी दिनुभयो । उक्त थान्का राख्नको लागि दुई विगाहा जग्गाको आवश्यकता पर्ने भएपनि एक विगाहा मात्रको प्रस्ताव आएको व्यवस्थापन समितिका संयोजक गुरुङ्गले बताउनुभयो ।

thanka-1

यस अघि कहां कहां प्रदर्शन भए
थान्का यस अघि सन् २००२ अप्रिलमा जापानको योकोहोमा, हिरोसिमा, २००५मेईमा जापानकै नागोया डोममा, २००३ डिसेम्बरमा भारतको नयां दिल्लीमा, २००४ जुनमा मंगोलिया, २००४ कै मार्चमा अमेरिकाको होनोलुलुमा प्रदर्शनी गरिसकिएको छ । गत कात्तिक २६ र २७ गते काठमाडौंको दशरथ रंगशाला र यही मंसिर ४ र ५ गते पोखरामा प्रदर्शनी पश्चात थान्का आज रुपन्देही ल्याइएको छ ।