दशैं सस्तो बजारमा एक करोडको कारोवार लक्ष्य, सैनामैनामा पनि दशै बजार सञ्चालन हुँदै

1.3K

दशैं सस्तो बजारमा एक करोडको कारोवार लक्ष्य, सैनामैनामा पनि दशै बजार सञ्चालन हुँदै

bucci logoबुटवल । बुटवल उद्योग बाणिज्य संघले आगामी मंगलबारदेखि बुटवलमा सञ्चालन गर्न लागेको दशैं सस्तो बजार–२०७२ मा एक करोड बढीको कारोवार गर्ने लक्ष्य लिएको छ ।
बुटवल ईटाभट्टि स्थित संघको सभाहलमा सञ्चालन हुने ५ दिने दशैं सस्तो बजारमा २५ लाख रुपैंया बराबरको नयाँ नोट सटही गर्ने समेत तयारी गरिएको कार्यक्रम संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो ।
दशैंलाई लक्षित गरेर गर्नलागेको यो १५ सस्तो बजार हो । दशैंको पूर्व सन्ध्यामा संघले १५ वर्षदेखि निरन्तर रुपमा दशैं सस्तो बजार सञ्चालन गर्दै आएको र अहिले भारतले गरेको अघोषित नाकाबन्दीका कारण पनि यो मेलालाई अर्थपूर्ण रुपमा लिईएको संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो ।
सस्तो बजारमा खाध्यान्न, चिनी, चियापत्ति, मरमसला, ड्राईफूड, दाल, चामल सहित हरेक प्रकारका दैनिक उपभोग्य बस्तुका ३० वटा स्टल राखिने छ ।
यहि असोज २६ गते घटस्थापनादेखि ३० गते फूलपाती सम्म सञ्चालन गर्न लागिएको सस्तो बजारमा आम नागरिक भारतले गरेको अघोषित नाकाबन्दीले प्रभावित भएका कारण पनि अंघिल्लो अंघिल्लो वर्षहरुमा भन्दा बढी आउन सक्ने संघले पूर्वानुमान गरेको छ । सस्तो बजारको २६ गते बिहान रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले उद्घाटन गर्ने तय गरिएको छ ।
त्यस्तै सैनामैना उद्योग बाणिज्य संघले पनि यहि असोजको २७ देखि ३० गतेसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने तयारी गरेको छ । दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण सहित सस्तो बजारमा थारु तथा मगर परिकार समेत राखिने संघका महासचिव रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । ५० वटा स्टल राखिने दशैं सस्तो बजारमा औद्योगिक प्रवद्धनका स्टल समेत राखिने छ । त्यस्तै नयाँ नोट सटहीकालागि केही बैंक तथा बित्तिय संस्थाले पनि स्टल राख्ने तयारी भएको संघका अध्यक्ष राजबहादुर क्षेत्रीले बताउनु भयो ।
सैनामैना नगरपालिका वार्ड नं. ४ मुर्गियामा सञ्चालन गर्न लागिएको दशैं बजारमा १० लाखको कारोवार गर्ने लक्ष्य लिईएको दशैं बजारका संयोजक तथा संघका उपाध्यक्ष प्रेमबहादुर खड्काले बताउनु भयो । यस बाहेक दशैं मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने बताईएको छ ।