अध्यक्ष ओलीले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउँदा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, एमाओवादी अध्यक्ष दाहाल, नेकपा(माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित हुनुहुन्थ्यो । यस्तै, एमालेका सांसदको पनि उल्लेख्य सहभागिता थियो ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(माले), राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनता दल छन् ।
संसद्मा एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा(माले) को ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ सांसद छन् । यसरी हेर्दा अध्यक्ष ओलीको पक्षमा ३१५ सांसद् रहेको देखिन्छ ।
व्यवस्थापिका–संसद् सचिवालयले शुक्रबार नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेको थियो । संसद्को शुक्रबारको बैठकमा सभामुख सुवास नेम्वाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशन गरिएको हो ।
प्रकाशित सूचनाअनुसार आज बिहान संसद् भवन नयाँ बानेश्वरमा ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव र ‘म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु’ भन्ने व्यहोराका आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ ।
आवेदन दर्ता भएपछि शनिबार ४ः३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
यस्तै, आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा सुरु हुनेछ ।