
ट्रेड युनियन काँग्रेसको प्रदेश भेला
बुटवल, १३ मंसिर । नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश नं. ५ को भेला आज रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ । भेलामा सामाजिक सुरक्षा सम्बन्धि विधेयक, श्रम सम्बन्धि समस्या समाधानका उपाय र सदस्यता अभिलेख अध्यावधिक सम्बन्धमा छलफल भएको थियो ।
नेपाल ट्रेड युनियन काँग्रेसले विगतदेखि नै सामाजिक सुरक्षा सम्बन्धि कानुन निर्माणमा पहल गर्दै आएको र अव सरकारले समय सापेक्ष सामाजिक सुरक्षा कानुन बनाउन भेलाले जोड दिएको छ । त्यसकालागि सरकारलाई दवाव सिर्जना गर्नुपर्ने पनि भेलामा निश्कर्ष निकालिएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।
ट्रेड युनियन प्रतिनीधिहरुको रोहवरमा कानुनको मस्यादा बनाउनु पर्नेमा सरकारले कानुन विपरित एकतर्फी रुपमा कानुनको मस्यौदा बनाएको भन्दै भेलामा सरकारको बिरोध भएको छ । सरकारले श्रम सम्बन्धि कुनैपनि ऐन ल्याउँदा प्रचलित कुनै पनि कानुन नबाझ्ने गरी ल्याउनकालागि ट्रेड युनियन संग समन्वयन गर्न समेत माग गरिएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसले अहिले देशव्यापी रुपमा सदस्य अभिलेख अध्यावधिक गर्ने अभियान सञ्चालन गरेको छ । भेलाले उक्त अभियानलाई स्वागत गरेको छ । प्रदेश नं. ५ बा निर्धारित मिति मै सदस्यता अध्यावधिक गर्ने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै त्यसमा सहयोग गर्नकालागि सबै आवद्ध संस्थाहरुलाई आग्रह गरेको छ ।
त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेसको आसन्न छैठौं महाधिवेशन रुपन्देहीमा गर्ने रुपन्देहीको प्रस्तावमा ऐक्यवद्धता जनाउँदै प्रदेश समितिले रुपन्देहीमा गर्नकालागि केन्द्रमा पहल तथा दवाव सिर्जना गर्ने समेत निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष गणेश निरौलाले मजदुरका समस्या समाधानकालागि युयिनयनले पहल गरिरहेको बताउनु भयो । उहाँले युनियनले पछिल्लो समयमा सदस्यता अध्यावधिक गर्ने कामलाई जोडदारका साथ अँगाडी बढाईएकाले समयमै सबैले अध्यावधिक गर्ने काम गर्न आग्रह गर्नुभयो । उहाँले सदस्यता अध्यावधिक गर्ने कामले संगठनलाई चुस्त बनाउने, संगठनको हैसियन प्रष्ट हुने तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने भएकाले युनियनले सदस्यता अध्यावधिक गर्ने कामलाई कडाईका रुपमा अँगाडी बढाईएको बताउनु भयो ।
प्रदेश नं. ५ का अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षता तथा सचिव युवराज बस्नेतको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसकी उपमहासचिव ललितकला गुरुङ्, केन्द्रीय सदस्य प्रतिमा शाह, राधिका कुँईकेल, नेपाल कृषि श्रमिक संघकी अध्यक्ष विमला गैरे, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका अध्यक्ष जेवि गुरुङ्, नेपाल रिक्सा तथा ठेला श्रमिक संघका अध्यक्ष प्रकाश पाठक, नेपाल यातायात मजदुर संघका महासचिव धर्म भण्डारी, शिक्षा विभाग सचिव आशा विष्ट, महिला समिति सचिव कविता अर्याल, प्रदेश समितिका सहसचिव तुलाराम गुरुङ् लगायतले भनाई राख्नुभएको थियो ।
भेलामा सहभागि जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा भएका प्रगति तथा समस्याहरु राखेका थिए ।