सीप बिकास तालिम दोस्रो चरणमा, २५ हजार युवालाई तालिम प्रदान गरिने

567

सीप बिकास तालिम दोस्रो चरणमा, २५ हजार युवालाई तालिम प्रदान गरिने

djps

पहिलो चरणमा बीस हजार युवाले तालिम लिए
बुटवल, १५ मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद शिप बिकास परियोजना अन्तरगत सञ्चालित सीप बिकास तालिम दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाल सरकार र एसियाली बिकास बैंक बिच सम्पन्न अनुदान सम्झौता अनुसार स्थापित सीप बिकास परियोजनाद्वारा सञ्चालित पहिलो चरणको तालिममा २० हजार जनालाई तालिम प्रदान गरिएको र अव सञ्चालन हुने दोस्रो चरणमा २५ हजार युवालाई तालिम प्रदान गरिने परियोजनाकी उपनिर्देशक रेनुका शाहले बताउनु भयो ।

सन् २०१४ देखि २०१८ सम्म यो परियोजनाले काम गर्ने छ । परियोजना सुरु भएको पहिलो दुई वर्षमा २० हजार र दोस्रो दुई वर्षमा २५ हजार युवालाई रोजगारमुलक तालिम प्रदान गर्ने लक्ष्य लिईएको थियो । वेरोजगार युवा युवतीलाई सीपमुलक तालिम प्रदान गरि रोजगारी तथा स्वरोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको नतिजा पनि राम्रो आएको उपनिर्देशक शाहले बताउनु भयो ।

तालिम लिएका युवाहरु मध्ये कतिपय रोजगारीको सिलसिलामा विदेश गएका छन् । नेपालमा रहेका पनि रोजगारी तथा स्वरोजगारमा ईन्भल्व भएको पाईएको र रोजगारी भेरिफिकेसनमा पनि राम्रो रिजल्ट आएको उहाँले बताउनु भयो । प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषदको पञ्चवर्षीय राणनीतिक योजना अनुसार देशभर प्राबिधिक तथा व्याबसायिक शिक्षा र तालिम कार्यक्रमको विस्तार गरी सबै नेपाली युवाहरुमा तालिममा पहुँच विस्तार गर्ने उद्देश्य पुरा गर्नकालागि एशियाली बिकास बैंक र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण, उत्पादन र सेवामुलक गरी ३६ प्रकारका तीन महिने (३९० घण्टाको लेवल १) तालिम प्रदान गरिएको छ ।

गरिव तथा पिछडा महिलालाई सीप प्रदान गरि उनीहरुमा आर्थिक बिकास गराउने उद्देश्यले सञ्चालन गरिने उक्त तालिममा ४० प्रतिशत महिला तथा ३० प्रतिशत पछाडी पारिएको समुदायबाट अनिवार्य सहभागि गराउनु पर्नेछ । पहिलो चरणमा ग्रामिण क्षेत्रलाई समेत समेटेर तालिम प्रदान गरिएको र अव सञ्चालन हुने दोस्रो चरणको तालिम शहरी क्षेत्रमा मात्रै सञ्चालन हुने परियोजनाकी उपनिर्देशक शाहले बताउनु भयो ।

तालिममा भने ग्रामिण क्षेत्रका पनि सहभागि हुन पाउने छन् । तालिममा सहभागिलाई एक दिनको ४० रुपैंयाको दरले खाजा व्यबस्था गरिने छ भने अति विपन्न परिवारका युवालाई बढीमा ४० प्रतिशत सम्मलाई मासिक ३ हजार ५ सय रुपैंया आर्थिक सहायता समेत प्रदान गर्ने व्यबस्था मिलाईएको उहाँले जानकारी गराउनु भयो ।

परियोजनाले सञ्चालन गरेका तालिम प्राईभेट संस्थाहरु ट्रेडिङ् सेन्टर नेपाल प्रा.ली. काठमाण्डौ, नेपाल ईञ्जिनियरिङ् एण्ड टेक्निकल साईन्स एकेडेमी प्रा.ली.सुर्खेत, वल्ड वाईट टेक्निकल प्रा.ली.काठमाण्डौ र देउराली जनता प्राविधिक शिक्षालय प्रा.लि.बुटवलले प्रदान गर्दै आएका छन् ।

अहिले श्रम बजारमा दक्ष जनशक्ति अभाव रहेको र सिटिईभिटी अन्तरगतको यो तालिम लिने हो भने सानो ठूलो रोजगारीमा कुनै समस्या नहुने देउराली जनता प्राविधिक शिक्षालयका प्रवन्धक प्रकाश रानाले बताउनु भयो । शिप बिकास परियोजनाले आज बुटवलमा जनचेतनाकालागि सामाजिक बजारीकरण सम्बन्धि कार्यशाला गोष्ठि गरेको थियो ।