बुटवल, १५ मंसिर । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्नेगरी सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्वमा यस क्षेत्रमा आन्दोलन सुरु भएको छ ।
मंगलबार राती संशोधन प्रस्ताव दर्ता भएपछि आज विहान देखि नै रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखांची लगाएतका जिल्लामा आन्दोलन भएको छ । आन्दोलनकारीले विहानै देखि सडकमा सवारी साधनलाई अवरोध पु¥याएका थिए । जसको कारण गन्तव्यमा हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका थिए । बुटवलको मुख्य मुख्य चोकमा आन्दोलनकारीले प्रदर्शन दिनभर नै जारी राखे ।
अखण्ड ५ नम्बर प्रदेशको माग गदै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनीले भोलि मंसिर १६ गते देखि अनिश्चितकालिन रुपन्देही वन्द आव्हान गरेको छ । अभियानका संयोजक विष्णु पोख्रेलद्वारा जारी विज्ञ्प्तीमा आज घोषणा गरेको अनिश्चितकालिन बन्द भोलि विहान ६ बजे सम्मको लागि स्थगित गरेको जनाइएको छ ।
भोलीदेखि हुने रुपन्देही बन्दमा प्रेस शवबाहन, एम्बुलेन्स, दुध बोक्ने गाडी विवाहा र मानवअधिकारका लोगो अंकित गाडीहरु निर्वाध संचालन हुने र त्यस वाहेकका सबै यातायातका साधन बन्द रहने विज्ञ्प्तीमा उल्लेख छ । त्यस्तै पसल कलकारखाना, उद्योगधन्दा, शैक्षिक संस्था बन्द रहने जनाइएको छ ।

त्यस्तै प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अखिलले भोलि मंसिर १६ गते देखि अनिश्चितकालिन रुपन्देही वन्द आव्हान गरेको छ । अखिलका रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेद्वारा आज जारी विज्ञ्प्तीमा मंसिर १६ गते देखि अनिश्चितकालिन रुपन्देही वन्द रहेको उल्लेख छ ।