बुटवलमा कांग्रेस, माओवादी र एमालेका नेताले संबोधन गर्ने

1.3K

बुटवलमा कांग्रेस, माओवादी र एमालेका नेताले संबोधन गर्ने

fire

बुटवल, १६ मंसिर । पाँच नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको संविधान संशोधन प्रस्तावको विरोधमा भोलि शुक्रबार बुटवलमा बृहत जुलुस र सभा गरिने भएको छ ।

सभालाई एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, काँग्रेस नेता चन्द्र भण्डारीलगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सभामा उपस्थितिका लागि एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ४ रुपन्देहीले आम नागरिकमा अनुरोध गरेको छ । साथै उसले कमिटीबाट एक सदस्य बराबर पाँचजनाका दरले उक्त जुलुसमा सहभागिता गराउने निर्णय गरेको छ ।

आज बसेको क्षेत्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु टुक्र्याउने गरी संशोधन प्रस्ताव ल्याइएको विरोधमा शुक्रबार बिहान ११ बजेदेखि प्रदेशस्तरीय भेला र २ बजे राजमार्ग चौराहामा सभाको आयोजना गरिने छ ।

एमाले क्षेत्रीय कमिटी बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीलाई सभामा बढी भन्दा बढी जनसहभागिता जुटाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराईले संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित आएकाले फिर्ता नभएसम्म आन्दोलन जारी राखिने बताउनुभयो ।

बैठकमा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, क्षेत्रीय कमिटीका कार्यबाहक अध्यक्ष राजेन्द्र ढकाल, सचिव घनश्याम चापागाईं, बुटवल नगर अध्यक्ष ज्ञानेश्वर अर्याललगायतले आन्दोलनलाई शान्तिपूर्ण र सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।